Banijya News

मुलुकको वैदेशिक व्यापार घाटा पाँच खर्ब १५ अर्ब

1
1.1K Shares

चालू आर्थिक वर्ष ०८२/८३ को कात्तिक मसान्तसम्म सात खर्बको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब घाटा व्यहोरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको चार महिनामा कुल सात खर्ब दुई अर्ब ९४ करोड ७० लाख नौ हजार रुपैयाँको वस्तु तथा सेवा आयात–निर्यात भएको छ । यो अवधिमा सन्तोषजनक निर्यात हुन नसक्दा पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार व्यापार घाटा भएको छ ।

कात्तिक मसान्तसम्म ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजारबराबरको निर्यात भएको विभागले जनाएको छ । यो कुल वैदेशिक व्यापारमा १३.३० प्रतिशतको हिस्सेदारी हो । आयातको हिस्सा भने ८६.७० प्रतिशत छ । विभागका अनुसार सबैभन्दा धेरै कच्चा सोयाबिनको तेल ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार मूल्यबराबरको आयात भएको छ । त्यसपछि डिजेल ३१ अर्ब ८९ करोड, पेट्रोल २२ अर्ब ३७ करोड, ग्यास १८ अर्ब आठ करोड र हवाई इन्धन ६ अर्ब ४४ करोडको आयात भएको छ । डिएपी १७ अर्ब १५ करोड, स्मार्ट फोन १६ अर्ब १५ करोड, सुन १५ अर्ब ७२ करोड र आइरन–स्टिल १० अर्ब १७ करोड मूल्यबराबरको आयात भएको विभागको तथ्यांक छ ।

निर्याततर्फ पनि सोयाबिन तेलकै वर्चस्व रहेको छ । आयातको तुलनामा ४७ करोड मूल्यवृद्धि भई निर्यात भएकोमा कुल ३८ अर्ब ४३ करोड सोयाबिन तेल निर्यात भएको विभागले जनाएको छ । सोयाबिन तेलको तुलनामा अन्यको निर्यात भने न्यून छ । दोस्रो स्थानको अलैँची तीन अर्ब ९७ करोड, गलैँचा–कार्पेट तीन अर्ब २६ करोड, सनफ्लावरको दाना तथा तेल दुई अर्ब ७३ करोडको निर्यात भएको विभागले जनाएको छ । त्यसैगरी, जुट दुई अर्ब १५ करोड, फेल्ट दुई अर्ब ११ करोड र पाम आयल दुई अर्ब ६ करोडको निर्यात भएको छ ।

विभागका अनुसार वीरगन्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै दुई खर्ब ८२ अर्ब ४१ करोड चार लाख ४२ हजार मूल्यको वस्तु आयात भएको छ । त्यस्तै, भैरहवा नाकाबाट ९३ अर्ब २७ करोड ३९ लाख ५२ हजार, विराटनगर नाकाबाट ७३ अर्ब २९ करोड ३२ लाख २४ हजार, त्रिभुवन विमानस्थलबाट ७१ अर्ब ३६ करोड ७० लाख ४८ हजार र नेपालगन्जबाट २३ अर्ब ८३ करोड पाँच लाख ४९ हजारको वस्तु आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, निर्याततर्फ पनि वीरगन्जबाट नै धेरै वस्तु विदेशिएका छन् । वीरगन्जबाट ३२ अर्ब ९५ करोड ६७ लाख ४७ हजार, विराटनगरबाट २७ अर्ब ६९ करोड ९२ लाख ३४ हजार, त्रिभुवन विमानस्थलबाट १२ अर्ब नौ करोड ८१ लाख १४ हजार र भैरहवाबाट नौ अर्ब ४८ करोड ७९ लाख २८ हजार मूल्यको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

1

Scroll to Top