डेढ वर्षअघि मर्मत भएका नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ का दुई इन्जिन र भाडाको इन्जिनसम्बन्धी २ अर्ब १० करोड बराबरको बिलमध्ये सोमबारसम्म निगमले करिब १ अर्ब ३३ लाख मात्र भुक्तानी गरेको छ। इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) ले पठाएको कुल बिल रकमको यो ४८ प्रतिशत मात्र हो, र निगमले अझै करिब १ अर्ब रुपैयाँ (५२%) भुक्तानी गर्न बाँकी छ।
निगमले २१ महिनाअघि आफ्नो एयरबस ए३२० न्यारोबडी जहाजका इन्जिन आोइएआईमा मर्मत (ओभरहल) गर्न पठाएको थियो। पहिलो इन्जिन मर्मतको कुल खर्च १ अर्ब ९ करोड ७६ लाख (७.७ मिलियन डलर) रहेको थियो। निगमले यसअघि करिब ६९ करोड ९७ लाख रुपैयाँ (४.९ मिलियन डलर) भुक्तानी गरिसकेको थियो। दोस्रो किस्तामा निगमले ३० करोड ३६ लाख (२.१२ मिलियन डलर) सोमबार भुक्तानी गरेको महाप्रबन्धक अमृतमान श्रेष्ठले कान्तिपुरलाई बताए ।
पहिलो इन्जिनको बाँकी ९ करोड रकम अझै बाँकी छ, निगमले ‘बिल नमिलेको’ भन्दै भुक्तानी रोकेको छ। दोस्रो इन्जिनको कुल बिल १ अर्ब २९ करोड (९.१ मिलियन डलर ) छ, र यसका लागि एलसी खोल्ने प्रक्रिया पुनः सुरु गरिएको छ। तेस्रो बिल भाडाको इन्जिनको कम्तीमा ४२ करोड भुक्तानी गर्न बाँकी छ।


