चीनसँगको उत्तरी नाका तातोपानीबाट चालु आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ। साउनदेखि कात्तिक मसान्तसम्म ४ अर्ब २८ करोड ७८ लाख ७९ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको हो।
नाकाबाट चालु वर्ष २४ अर्ब ४७ करोड ८५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिइएको थियो। हालसम्म १७.५२ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले जानकारी दिए। चीनले कन्टेनर आवतजावतमा कडाइ गरेको र पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनले बताए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा ८५ करोड ९९ लाख २८ हजार, भदौमा ७९ करोड १८ लाख ९ हजार, असोजमा १ अर्ब ४३ करोड ५६ हजार र कात्तिकमा १ अर्ब २० करोड ६० लाख ८८ हजार रूपैयाँ राजस्व संकलन भएको हो। कुनैबेला पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महŒवपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ।
‘केरुङ नाका सञ्चालन हुँदा पनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो,’ प्रमुख भन्सार अधिकृत चुँडाल भन्छन्, ‘अहिले उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ।’ उनले सहज रूपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावास, भन्सार विभाग, प्रमुख जिल्ला अधिकारी तथा चाइनाको समकक्षीहरूसँग कुराकानी भइरहेको बताए।
‘अहिले एकमात्र विकल्पको रूपमा रहेको तातोपानी नाकाबाट सहज रूपमा सामाग्री आयात गर्नका लागि हामीले चीन र नेपाल दुबैतर्फका सरकारसँग कुराकानी गरिरहेका छौं,’ उनले भने, ‘तर परिणम भने देखिएको छैन। सामान पठाउन चीनले त्यति चासो दिएको देखिँदैन।’ तिहारलगत्तै केही दिन चीनबाट सामान आएको तर पछिल्लो समय न्यून मात्रामा मात्र मालवस्तु भरिएका कन्टेनरहरू आउने गरेको प्रमुख भन्सार अधिकृत चुँडाल बताउँछन्।
नेपालको दोस्रो ठूला व्यापारिक साझेदार चीनसँग जोड्ने प्रमुख नाकाहरूमध्ये तातोपानी नाकामात्रै अहिले सञ्चालनमा छ। मुस्ताङस्थित कोरला नाका अत्यधिक चिसोका कारण सञ्चालन हुन सकेको छैन्। गत असार २४ गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको आयात निर्यात व्यापारको प्रमुख विकल्पको रूपमा अहिले तातोपानी नाका मात्र हो।


