Banijya News

स्याङ्जामा १९ करोडमा एक सय ३२ योजना निर्माण गरिने

1
1.2K Shares

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाले झण्डै १९ करोडको लागतमा १३२ योजना निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा १८ करोड ८१ लाख लागतमा साना र ठूला गरी १३२ वटा योजना निर्माण गरिने भएको हो ।

जिल्लाकै ठूलो आयोजनाको रुपमा दुई करोड ६ लाखको लागतमा आँधीखोला, पुतलीबजार, भीरकोट र वालिङ नगरक्षेत्रमा आँधीखोला नियन्त्रणको योजना सञ्चालन हुनेछ । एक करोडको लागतमा जिल्लाको दोस्रो ठूलो आयोजनाका रुपमा चापाकोटटार सिँचाइ आयोजना र ४० लाखको लागतमा ज्याग्दीखोला–बाह्रबिसे सिँचाइ आयोजना निर्माण गरिने भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वालिङ क्षेत्रको उदियाचौर सिँचाइ आयोजनालाई २५ लाख, डुम्रीकोट–अर्चलखोला मियाले र बायखोला–सियाले एकीकृत सिँचाइ आयोजना २४/२४ लाखको लागतमा निर्माण गरिने छ । फेदीखोलाको सेतीखोला–स्थानेचौर सिँचाइलाई २४ लाख ५० हजार, आँधीखोला गाउँपालिकाको सम्धीखोला–बुढीकुलो आयोजनालाई २४ लाख र गल्याङ् नगरपालिकाको छहरा–क्यादी र बृहत कुरुङचे सिँचाइ आयोजना २२ लाख ५० हजार दरको लागतमा निर्माण हुनेछ ।

जिल्लामा १५ लाखदेखि २० लाखको लागतमा २८ वटा सिँचाइका आयोजना सञ्चालन हुनेछ । त्यस्तै १० लाखदेखि १५ लाखसम्मका १६, ६ लाखदेखि १० लाखसम्मका ४१ र ५ लाख भन्दा कमको लागतमा ३७ वटा गरी झण्डै १९ करोडको लागतमा १३२ आयोजना सञ्चालन हुने जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए ।

1

Scroll to Top