सरकारले हवाई इन्धन पाइपलाइबाट ल्याउन भारतीय पक्षसामु प्रस्ताव राख्ने भएको छ । भारतको नयाँ दिल्लीमा यही मङ्सिर २२ गते आयोजना हुने नेपाल–भारतबीच पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौं बैठकमा उक्त प्रस्ताव अघि सार्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार अहिले हवाई इन्धन भारतबाट ढुवानी गर्दा करोडौं रुपैयाँ खर्च हुने गरेको छ । त्यो खर्च घटाउन कार्यसमूहको बैठकमा हवाई इन्धन पाइपलाइनबाट ल्याउने प्रस्ताव गरिँदै छ । ‘भारतबाट हवाई इन्धन पाइपलाइनबाट ल्याउन प्रस्ताव गर्न खोजिरहेका छौं,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले भने । ‘डिपो निर्माणका लागि समेत उक्त बैठकमा प्रस्ताव राख्नेछौं ।’
त्यसो त अहिले हवाई इन्धन पाइपलाइनबाट ल्याउन भारतले स्वीकृति दिने हो भने पनि राख्ने डिपो छैन । त्यसैले डिपो निर्माण गरिदिन समेत नेपालले भारतलाई नै अनुरोध गर्दै छ ।
नेपाल–भारतबीच पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेल नेतृत्वको टोलीलाई सोमवारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । सन् २०१९ को सेप्टेम्बरमा पहिलोपल्ट पाइपलाइनबाट डिजेल ल्याएर पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने कामको शुरुआत भएको थियो । सन् २०२५ मा पाइपलाइनबाट डिजेल आयात पनि शुरू भएको छ । अब हवाई इन्धन पनि पाइपलाइनबाटै ल्याउने प्रयास गर्न लागिएको हो ।
बैठकमा सहभागी हुने नेपाली टोलीले इन्धन आपूर्तिलाई सहज बनाउन आफ्ना एजेन्डाहरू राख्ने अधिकारीहरूको भनाइ छ । ‘अहिले लाइनमा भएका प्रोजेक्टहरू अघि बढाउनेबारे पनि गहन छलफल हुनेछ,’ ती अधिकारीले भने । मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम सकिइसकेको छ । भारतले उक्त पाइपलाइन हस्तान्तरण कहिले र कसरी गर्ने हो त्यसबारे समेत बैठकमा छलफल हुने ती अधिकारीले बताए ।
पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप बिछ्याइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेशन’को काम सकिइसकेको छ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टीटेल भण्डारणका लागि चारओटा नयाँ ‘भर्टिकल ट्यांक’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुईओटा ट्रान्समिक्स ट्यांक र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।
अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र २ हजार २०० किलोलिटर मट्टीतेल राख्न सक्ने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक छ । मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न २०३० सालमा अमलेखगञ्ज डिपोको निर्माण शुरू गरिएको थियो । ६७ हजार ७२४ वर्गमीटरमा फैलिएको उक्त डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।
नेपाली निजीक्षेत्रले भारतबाट इन्धन ल्याएर बेच्नेबारे चर्चा चलिरहेको बेला त्यसबारे भने अहिले छलफल नहुने मन्त्रालयका ती अधिकारीको भनाइ छ । उनका अनुसार अहिलेसम्म त्यसबारे कुनै नीतिगत निर्णय भएको छैन ।


