Banijya News

बेमौसमी वर्षाले तरकारी बालीमा एक अर्बको क्षति

1
1.2K Shares

गत असोज र कात्तिकमा भएको बेमौसमी तथा भारी वर्षाको कारण मुलुकको कृषि उत्पादनमा ठुलो नोक्सानी भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरिमा कुल १ अर्ब २५ करोड ७१ लाख बढी रुपैयाँ बराबरको तरकारी बालीमा क्षति पुगेको हो ।

वर्षाको कारण पाक्ने बेला भएका तरकारी र भर्खरै रोपिएका हिउँदे तरकारीका बेर्नाहरुमा अन्याधिक क्षति पुगेको छ । लगातारको वर्षाले तरकारी बाली लगाएका खेतहरु डुबानमा पर्दा धेरै तरकारी बाली सडेर नष्ट भएका हुन् । मन्त्रालयका अनुसार तिन प्रदेशका विभिन्न जिल्लाहरुमा क्षति हुँदा सबैभन्दा बढी मधेश प्रदेशमा क्षति भएको छ । जसले गर्दा बजारमा तरकारीको आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।

मन्त्रालयका अनुसार मधेश प्रदेशमा मात्र १ अर्ब २१ करोड २४ लाख ८० हजार रुपैयाँ बराबरको १५ हजार १५६ मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको छ । कोशी प्रदेशमा ४ करोड ४६ लाख ३३ हजार रुपैयाँ बराबरको ९६४ मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको हो । गण्डकी प्रदेशमा २० हजार रुपैयाँ बराबरको तरकारी बालीमा क्षति पुगेको छ । यो वर्षाको कारण ४५ लाख ७१ हजार रुपैयाँ बराबरको आलु बालीमा क्षति पुगेको छ ।

1

Scroll to Top