Banijya News

खेतीयोग्य जमिन बाँझीदै जाँदा जीडीपीमा १० प्रतिशतले घट्यो  कृषिको योगदान

1
1.2K Shares

नेपालमा खेतीयोग्य जमिन घट्दै जाँदा कृषि क्षेत्रको योगदान पनि वर्षेनी कम हुँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार देशमा करिब १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको पाइएको छ । कृषि क्षेत्रमा आउने संकटसँगै आर्थिक वर्ष २०६८/६९ मा ३५.२ प्रतिशत रहेको कृषिको योगदान आर्थिक वर्ष २०८०/८१ मा झरेर २४.९ प्रतिशतमा पुगेको छ ।

आठौँ राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा कुल ४१ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख हेक्टर जमिन बाँझो छ । यो तथ्यांक चार वर्ष पुरानो भएकाले अहिले बाँझो जग्गा अझ बढेको हुन सक्ने विशेषज्ञहरूको अनुमान छ ।

२०५८ देखि २०६८ वैशाखसम्म १ लाख २९ हजार हेक्टर खेतीयोग्य क्षेत्र घटेकोमा २०७८ सम्म आइपुग्दा थप ३ लाख ८ हजार हेक्टर जमिन कृषि प्रयोगबाट बाहिरिएको छ । कुल १० वर्षमा १ लाख ७९ हजार हेक्टर भूमि बाँझोमा परिणत भएको राष्ट्रिय तथ्यांकले देखाउँछ ।

२०६८ मा २५ लाख २५ हजार ६३९ हेक्टरमा खेती भए पनि २०७८ मा खेती भएको क्षेत्र २२ लाख १८ हजार ४१० हेक्टरमा झरेको छ । कृषि क्षेत्र घट्दै जाँदा देश खाद्यान्नमा परनिर्भर बन्दै गएको कृषि विज्ञहरूको विश्लेषण छ ।

कृषि क्षेत्र कमजोर बनेसँगै यसको योगदान पनि निरन्तर घटेको छ । २०७०/७१ मा ३४.१ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान २०७३/७४ मा २८.८ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा २३.९५ प्रतिशतमा झरेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ६८-६९ मा जीडीपीमा कृषि क्षेत्रको योगदान ३५.२ प्रतिशत थियो जुन आर्थिक वर्ष २०६९-७० मा आएर ३४.२ प्रतिशतमा झ¥यो । आर्थिक वर्ष २०७०-७१ मा ३४.१ प्रतिशत रहेको कृषिको योगदान आर्थिक वर्ष २०७१-७२ मा आएर ३१.८ प्रतिशत पुगेको थियो । यसरी प्रत्येक आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।

आर्थिक वर्ष २०७२-७३ मा कृषि क्षेत्रको जीडीपीमा योगदान ३१.७ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा त्यस वर्ष योगदान थोरै मात्र घटेकोमा आर्थिक वर्ष २०७३-७४ मा घट्ने दर फेरि तीव्र भयो । सो आवमा कृषि क्षेत्रको योगदान २८.८ प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७४-७५ मा २७.६ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान आर्थिक वर्ष २०७५-७६ मा २७ प्रतिशत, आर्थिक वर्ष २०७६-७७ मा १ प्रतिशतले घटेर आउँदा २६ प्रतिशत कायम भएको थियो ।

आर्थिक वर्ष २०७७-७८ मा २५.८३ प्रतिशत पुग्दा आर्थिक वर्ष २०७८-७९ मा २३.९५ प्रतिशत, आर्थिक वर्ष २०७९-८० मा २४.१२ प्रतिशत, आर्थिक वर्ष २०८०-८१ मा २४.९ प्रतिशत योगदान कृषि क्षेत्रबाट जीडीपीमा पुगेको थियो ।

यसरी वर्षेनी कृषियोग्य जमिन घट्दै जाँदा नेपालको खाद्यान्नमा परनिर्भरता पनि बढ्दै जाने देखिएको छ ।

गौचनका अनुसार बाँझो जमिन बढ्दै जानुमा किसानहरूसँग जमिनको स्वामित्व नहुनु, कृषिमा श्रम गर्ने युवाशक्ति पलायन हुनु, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीहरूको कमी, कम नाफामुखी व्यवसाय र नविनतम प्रविधिको प्रयोग हुन नसक्नु लगायत कारण मुख्य हुन् ।

सरकारले कृषि क्षेत्रको समृद्धिका लागि खास काम नगरेको उनको भनाइ छ । साथै स्थानीय सरकारले खेतीयोग्य जमिनलाई आर्थिक लोभमा घर घडेरीमा वर्गीकरण गरेको कारण पनि खेतीयोग्य जमिन घट्दै गएको गौचन बताउँछन् ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार मानिसले आफ्नो बसोबासको रोजाइ तराई क्षेत्र बनाएका छन् । यस जनगणनामा ४९.७ प्रतिशत मानिस पहाड र हिमालमा बसेको देखियो भने ५०.३ प्रतिशत मानिस तराईमा बसेका थिए ।

राष्ट्रिय जनगणना २०७८ मा देशभित्रको स्थायी आन्तरिक बसाइँसराइको दर ९.२ प्रतिशत रहेको छ । यो जनगणनाले ३२ प्रतिशत पहाडका मानिसहरूले मूलथलो छाडेको देखाएको थियो । सो तथ्यांकले देशभित्र बसाइँसराइ गर्नेहरुमा ५७.२ प्रतिशतको रोजाईमा काठमाण्डौँ उपत्यका रहेको छ ।

यस्तै ५८ जिल्लाबाट बाहिरिने धेरै रहेका छन् भने १८ जिल्लामा भित्रिनेको संख्या बढी रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अनुसार नेपालको तराई क्षेत्रमा ५० वर्षको अवधिमा जनसंख्या १३८ प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार २०२८ मा नेपालको जनसंख्या १ करोड ५० लाख २२ हजार ८ सय ३९ थियो । उक्त तथ्यांक राष्ट्रिय जनगणना २०७८ मा २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

यो वृद्धिदर ९४.१ प्रतिशत हो । तर यही अवधिमा तराई क्षेत्रमा जनसंख्या वृद्धि १३८.४ प्रतिशत भएको छ । तर सोहि अवधिमा हिमाल र पहाडको वृद्धिदर ५९.८ प्रतिशत मात्र रहेको छ । यसले तराई तथा सहरी क्षेत्रमा जनसंख्याको चाप बढेको र पहाड र हिमाली क्षेत्र खाली हुँदै गएको देखाउँछ ।

कृषि उत्पादन घट्दै जानुमा वैदेशिक रोजगारी पनि कारक देखिएको छ । रोजगारीको लागि विदेश जानको संख्या बढ्दा विप्रेषण आप्रवाह पनि बढेको छ । जसले गर्दा गाँउमा खेती गर्ने चलन घटेको विज्ञहरुको मत छ । मानिसहरुमा दुःख गरेर खेती गर्नुभन्दा पैसा तिरेर किन्नु भन्ने मानसिकता विकास भएको छ । युवाहरुको बढ्दो विदेश पलायनले गाउँमा काम गर्ने युवा छैनन्, वृद्ध वृद्धाले खेती गर्न सक्दैनन् यसले गर्दा खेतीयोग्य जमिन घट्दै गएको विज्ञहरुको तर्क छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा दुई लाख ७३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार, २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा कुल दुई लाख ७३ हजार ८१० जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा कुल दुई लाख ४१ हजार ५८१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १३.३४ प्रतिशतले बढेको यस तथ्यांकले देखाउँछ ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाँदा विप्रेषण आप्रवाहमा पनि उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विप्रेषण आप्रवाहमा ३५.४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण आएको छ । गत आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ विप्रेषण आएको थियो ।

पहाडी जिल्लाहरुमा जग्गा बाँझो हुनुको एउटा प्रमुख कारण बाँदर आतंक पनि हो । वर्षभरि दुःख गरेर लगाएको खेती एकैछिनमा सखाप भएपछि किसानहरु गाउँ छोडेर बजार झरेका छन् ।

1

Scroll to Top