नेपालको धितोपत्र बजारमा जनसंख्यामध्ये २४ प्रतिशतभन्दा बढी नागरिक धितोपत्र बजारमा जोडिएका छन् ।
नेपालमा कुल २ करोड ९१ लाखभन्दा बढी जनसंख्या रहेकोमा धितोपत्र बजारमा हितग्राही (डिम्याट) खाता ७१ लाख ७४ हजारभन्दा बढी पुगेको हो । धितोपत्रको दोस्रो बजारमा भने जनसंख्याको ९ प्रतिशत मात्र सहभागी रहेको तथ्याङ्कले देखाएको छ ।
नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह, २०२५ को अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार धितोपत्र दोस्रो बजारमा कारोबारका लागि टिएमएस प्रयोगकर्ताको संख्या २६ लाख ४३ हजारभन्दा बढी रहेको हो ।
डिम्याट खाताका सक्रिय प्रयोगकर्ताका आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी ३१ प्रतिशत छ । त्यस्तै, कोशी प्रदेशमा २० प्रतिशत, मधेशमा १४ प्रतिशत, लुम्बिनीमा १४ प्रतिशत, गण्डकीमा ११ प्रतिशत, सुदूरपश्चिममा ७ प्रतिशत र कर्णाली प्रदेशमा ३ प्रतिशत सक्रिय लगानीकर्ता रहेको बोर्डको तथ्यांक छ ।
टिएमएस प्रयोगकर्ता पनि बागमती प्रदेशमा सबैभन्दा बढी छन् । बोर्डका अनुसार बागमती प्रदेशमा ३५ प्रतिशत, कोशीमा १९ प्रतिशत, गण्डकीमा १३ प्रतिशत, मधेशमा १२ प्रतिशत, लुम्बिनीमा १२ प्रतिशत, सुदूरपश्चिममा ६ प्रतिशत र कर्णाली प्रदेशमा ३ प्रतिशत टिएमएस प्रयोगकर्ता छ ।
लगानीकर्ताको सहभागिता बढ्दै जाँदा वित्तीय साक्षरतालाई समेत सोहीअनुरूप बढाएर लैजान सरोकारवालाले सुझाव दिएका छन् ।
बिहीवार काठमाडौंमा भएको विश्व लगानीकर्ता सप्ताह, २०२५ को उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पूँजीबजारसम्बन्धी कार्यक्रम शहरकेन्द्रित नभएर गाउँ केन्द्रित हुनुपर्नेमा जोड दिए । विश्व लगानीकर्ता सप्ताहको उद्घाटन कार्यक्रम पनि काठमाडौंमा नभएर विकट जिल्लामा गरेको भए अझ प्रभावकारी हुने भनाइ मिश्रको थियो ।
बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले लगानीकर्तालाई वित्तीयरूपमा साक्षर बनाउन बोर्डले निरन्तर प्रशिक्षणका कार्यक्रम आयोजना गरिरहेको भए पनि सप्ताहव्यापी रूपमा गरिने कार्यक्रम थप फलदायी हुने बताए । बोर्डले देशका सातओटै प्रदेशका लगानीकर्ता समेटिने गरी वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना अनुरूप काम गरिरहेको समेत उनले जानकारी दिए ।
मंसिर २५ गतेदेखि शुरू गरिएको विश्व लगानीकर्ता सप्ताह पुस २ गतेसम्म मनाइने जानकारी बोर्डले दिएको छ । यो अवधिभर स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल स्टक एक्सचेञ्ज, नेपाल उद्योग वाणिज्य महासंघ लगायत बजारसँग जोडिएका सरोकारवालाको संयुक्त आयोजनामा देशव्यापी कार्यक्रम सञ्चालन हुने बोर्डले बताएको छ ।
साताभर आयोजना हुने कार्यक्रमले धितोपत्र बजार सहभागीबीच सहकार्य र समन्वय बढाउने विश्वास बोर्डले लिएको छ ।


