दश ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) अन्तिम चरणमा पुगेको छ ।
परीक्षणको जिम्मेवारी पाएको बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनीले स्थगलत रूपमा अध्ययन गरी तथ्यांक संकलन गरिसकेको तथा हाल परीक्षणको काम भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए ।
राष्ट्र बैंकले हौलादार युनुस एन्ड कम्पनीसँग १० ओटा वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणका लागि २०८२ भदौ १२ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले ५ महीनाभित्र तोकिएको काम सम्पन्न गरी माघ १२ सम्ममा अन्तिम प्रतिवेदन बुझाउनुपर्नेछ ।
राष्ट्र बैंकले भने सन् २०२५ डिसेम्बर अन्तिमसम्ममा कर्जा गुणस्तर परीक्षण प्रतिवेदन बुझाउने प्रतिबद्धता गरेको छ । राष्ट्र बैंकले साउनमै हौलादार युनुस एन्ड कम्पनीको प्रस्ताव स्वीकृत गरे पनि सम्झौता १ महीना ढिला हुँदा आईएमएफसँगको सम्झौताअनुसार प्रतिवेदन तयार नहुने स्थिति देखिएको छ । राष्ट्र बैंकले डिसेम्बरभित्र प्रारम्भिक प्रतिवेदन बुझाउन परामर्शदाता कम्पनीलाई ताकेता गरिरहेको छ । प्रारम्भिक प्रतिवेदनमा केन्द्रीय बैंकले दिने सुझावका आधारमा परामर्शदाता कम्पनीले अन्तिम प्रतिवेदन तयार गर्नेछ ।
कर्जा गुणस्तर परीक्षणका क्रममा बैंकहरूको कर्जा नीति र प्रक्रिया, कर्जाको वर्गीकरण, धितो मूल्यांकन, प्रोभिजनिङ अभ्यास तथा नियामकीय प्रावधानका परिपालना अवस्थालगायत सूचकको आधारमा मूल्यांकन गरिएको छ । परामर्शदाताले बैंकको कर्जा फाइलहरू, कोर बैंकिङ सिस्टम, परियोजना लगानीको अवस्था र कर्जा भुक्तानी अवस्थाको विस्तृत अध्ययन गरिरहेको छ । प्रवक्ता पौडेल राष्ट्र बैंकले नियमित गर्दै आएको काम विदेशी परामर्शदाताबाट भएको बताए ।
राष्ट्र बैंकले कर्जा गुणस्तर परीक्षणका लागि २०८१ चैतको वासलातका आधारमा धेरै कर्जा लगानी भएका बैंकहरू छनोट गरेको थियो, जसमा ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सन्राइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक परीक्षणको दायरामा समेटिएका छन् ।
यसमार्फत वाणिज्य बैंकहरूको कुल कर्जामध्ये ६३ प्रतिशतको परीक्षण हुने राष्ट्र बैंकले बताएको छ । आईएमएफले नेपाललाई विस्तारित कर्जा सुविधा उपलब्ध गराउनुअघि १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । त्यसैअनुसार राष्ट्र बैंकले बोलपत्रमार्फत अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरी परीक्षणको जिम्मेवारी दिएको हो ।
आईएमएफले नेपाली बैंकहरूले कर्जाको वर्गीकरणमा उदारता अपनाएको, जोखिम व्यवस्था कम राखिएको, एभरग्रिनिङ गरेको तथा कर्जा जोखिम व्यवस्थापन प्रणाली कमजोर रहेको आशंका गर्दै आएको छ ।


