Banijya News

एमालेमा १९ पदाधिकारीका लागि ४१ जना चुनावी मैदानमा

1
1.2K Shares

नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र जारी छ। बन्दसत्रको तेस्रो दिन आज साँझबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुँदैछ। २ हजार २६२ जना प्रतिनिधिले एमालेको भावी नेतृत्वसहित पदाधिकारीको टिम चुन्नेछन्।

१९ पदाधिकारीका लागि ४१ जना चुनावी मैदानमा छन्। अध्यक्षमा विगत लामो समय सँगै रहेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उनीहरू प्यानल नै बनाएर प्रतिस्पर्धाका लागि तम्तयार छन्।

पाँच उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका छन्। ओली समूहबाट रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ छन्। महासचिवमा नपाएपछि ओली टिमकै प्रदीप ज्ञवालीले भने उम्मेदवारी दिएनन्।

पोखरेल समूहबाट अरुण नेपाल, गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, टंक कार्कीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ओलीको टिममा केन्द्रीय सदस्यमा सीमित भएका रघुजी पन्त र भीम आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यस्तै, एक महासचिवका दुई प्रतिस्पर्धी छन्। ओली समूहबाट शंकर पोखरेल दोहोरिँदा पोखरेल समूहबाट सुरेन्द्र पाण्डे भिड्दैछन्।

तीन उपमहासचिवमा ७ प्रतिस्पर्धी छन्। ओली टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार छन्। टिममा नपरेपछि राजेन्द्र गौतमले पनि उपमहासचिवमै उम्मेदवारी दिए पनि उनले फिर्ता लिइसकेका छन्।

पोखरेल समूहबाट योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल उपमहासचिवका उम्मेदवार हुन्। ओली टिममा नपरेका पोखरेललाई अन्तिम समयमा इतर समूहमा ल्याउन नेताहरू सफल भएका हुन्।

यसैगरी ९ सचिवका लागि सबैभन्दा धेरै २० जनाबीच प्रतिस्पर्धा हुँदैछ। ओली टिमबाट छविलाल विश्वकर्मा, पदमा अर्याल, राजन भट्टराई, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की र महेश बस्नेत सचिवका उम्मेदवार हुन्।

पोखरेल समूहबाट कर्ण थापा, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र अग्नि खरेल सचिवमा उम्मेदवार छन्। खरेल ओलीको साथ छाडेर पोखरेल समूहबाट उम्मेदवार बनेका हुन्। ओली टिममा केन्द्रीय सदस्यमा मात्रै समेटिएका लालबाबु पण्डितले पनि उम्मेदवारी दिएका छन् भने पेम्बा लामा पनि चुनावी मैदानमा छन्।

1

Scroll to Top