काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा हालसम्म ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ। महानगरपालिकाले शिक्षातर्फ यस वर्षका लागि ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
महानगरपालिका शिक्षा विभागका अनुसार यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अर्ब ४ करोड ८५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च भयो।
गरी खाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएको छ। शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ।
संघीय सशर्त अनुदानबाट १ अर्ब ४२ करोड ३४ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएको महानगरपालिका शिक्षा विभागले जनाएको छ।


