बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा सर्वसाधारणले तिर्नुपर्ने ब्याजदर १३ वर्षयताकै न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशतमा सीमित छ । राष्ट्र बैंकले २०६९ सालदेखि निक्षेप र कर्जाको भारित औसत ब्याजदर गणना गर्न थालेयता यो सबैभन्दा कम हो ।
हाल बैंक तथा वित्तीय संस्थासँग करिब सवा ११ खर्ब रुपैयाँ बराबरको ऋण दिन मिल्ने रकम निष्क्रिय अवस्थामा रहेको छ। यता पुस महिनाका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर थप घटाएका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर औसत ०.२०६ प्रतिशत विन्दुले घटेको छ । एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा ५.०४५ प्रतिशत रहेकामा पुसमा घटेर ४.८३९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको एकवर्षे मुद्दती निक्षेपको औसत ब्याजदर पनि पुसमा ३.४४५ प्रतिशतमा सीमित भएको छ ।
ब्याजदर घटाउने दिशामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पनि सहजीकरण गरेको छ । १५ मंसिरमा सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ । साथै नीतिगत दर ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशतमा झारिएको छ ।
राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा राख्ने उद्देश्यले यी दरहरू समायोजन गरिएको हो । यसले बैंक तथा वित्तीय संस्थाको कोष लागत घट्ने र त्यसको प्रत्यक्ष लाभ कर्जा लिने ग्राहकसम्म पुग्ने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकले २०६९ सालदेखि भारित औसत ब्याजदरको तथ्यांक राख्न थालेको भए पनि त्यसअघिका वर्षहरूमा ब्याजदर अझ उच्च रहेको अधिकारीहरू बताउँछन् । २०६९ असारमा कर्जाको भारित औसत ब्याजदर १२.४० प्रतिशत थियो । त्यसपछि विभिन्न आर्थिक उतारचढावसँगै ब्याजदर घटबढ हुँदै आएकोमा पछिल्ला महिनामा पुनः तीव्र रूपमा ओरालो लागेको हो ।
आर्थिक वर्ष २०७७/७८ असारमा औसत कर्जा ब्याजदर ८.४३ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७९/८० फागुनमा बढेर १३.०३ प्रतिशत पुगेको थियो । त्यसयता निरन्तर घट्दै आएको ब्याजदर २०८१ असारमा ९.९३ प्रतिशत र पछिल्लो समय ७.३८ प्रतिशतमा झरेको छ ।
२०२३ सालदेखि २०४६ सालसम्म राष्ट्र बैंकले प्रत्यक्ष रूपमा कर्जा र निक्षेपको ब्याजदर तोक्दै आएको भए पनि त्यसपछि बजारलाई नै ब्याजदर निर्धारणको जिम्मा दिइएको हो । यद्यपि आधार दर, स्प्रेड दर र विभिन्न नियामक उपकरणमार्फत राष्ट्र बैंकले हाल पनि ब्याजदरलाई अप्रत्यक्ष रूपमा नियन्त्रण गर्दै आएको छ ।


