चालु आर्थिक वर्षको पाँच महिनामा घरजग्गा कारोबारबाट असुली हुने पुँजीगत लाभकर झण्डै आठ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको साउन–मंसिरसम्ममा घरजग्गा कारोबारबाट ५ अर्ब ८४ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यो वर्षको मंसिरसम्म ६ अर्ब २९ करोड ८९ लाख रुपैयाँ असुली भएको छ । यो गत वर्षका तुलनामा ४५ करोड ३ लाख अर्थात् ७.६९ प्रतिशतले धेरै हो ।
यस्तै, गत आवको मंसिरसम्ममा औषत मासिक एक अर्ब १६ करोड ९७ लाख रुपैयाँका दरले लाभकर असुली भएको थियो । यो वर्ष पुँजीगत लाभकर औषत प्रतिमहिना एक अर्ब २५ करोड ९७ लाख रुपैयाँका दरले उठेको छ ।
विभागका अनुसार गत आवका पाँच महिना र यो वर्षका सोही महिनाको लाभकर असुलीमा उतारचढाव देखिएको छ । कुनै महिना लाभकर गत वर्ष बढेको छ भने कुनै महिनामा यो वर्ष धेरै उठेको छ । यो वर्षभन्दा गत वर्ष साउनमा धेरै लाभकर असुली भएको देखिन्छ । गत वर्ष साउनमा एक अर्ब ३४ करोड ६९ लाख लाभकर उठेकामा यो वर्ष साउनमा एक अर्ब १९ करोड ११ लाख मात्र संकलन भएको छ ।
यस्तै, गत वर्षको भदौमा भन्दा यो वर्ष भदौमा धेरै लाभकर असुली भएको छ । गत वर्ष भदौमा एक अर्ब १३ करोड १५ लाख उठेको थियो । यो भदौमा बढेर एक अर्ब २० करोड ९२ लाख संकलन भएको छ ।
यसैगरी असोजमा फेरि गत वर्षभन्दा धेरै लाभकर उठेको छ । गत असोजमा एक अर्ब ११ करोड ६२ लाख लाभकर असुली भएकामा यो असोजमा सामान्य गिरावट आई एक अर्ब ६ करोड १९ लाख उठेको छ । दुई आवका कात्तिक महिनामध्ये यो वर्ष धेरै लाभकर उठेको देखिन्छ । यो कात्तिकमा ९९ करोड ७८ लाख लाभकर असुली भएको थियो । गत वर्ष कात्तिकमा भने ९३ करोड ७७ लाख मात्र उठेको थियो ।
यस्तै, चालु आवको मंसिरमा भने उच्च रुपमा लाभकर बढेको छ । गत आवको मंसिरमा एक अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर उठेकामा यो वर्ष बढेर एक अर्ब ८३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
अर्कोतिर चालु आवमा घरजग्गा कारोबार र राजस्व दुवै बढ्न सकेको छैन । गत मंसिरसम्मको तुलनामा चालु आवको सोही अवधिमा जग्गा कारोबारबाट असुली हुने राजस्व एक प्रतिशतले मात्र बढेको छ । विभागका अनुसार गत मंसिरसम्मको तुलनामा यो मंसिरसम्ममा १८ करोड रुपैयाँले राजस्व बढेको छ । गत वर्ष मंसिरसम्ममा १६ अर्ब ५७ करोड राजस्व संकलन भएको थियो । यो वर्ष १६ अर्ब ७५ करोड पुगेको छ । यो गत वर्षभन्दा १.०८ प्रतिशतले धेरै हो ।
यस्तै, गत आवको मंसिरसम्ममा रजिष्ट्रेशनसहित विभिन्न किसिमका लिखत पारित भएको संख्या ५ लाख ६७ हजार पुगेको थियो । चालु आवमा यस्तो संख्या ५ लाख ७२ हजार थान पुगेको छ । घरजग्गा लगायतका लिखत पारित संख्या गत आवभन्दा ५ हजारले मात्र बढेको छ । यो शून्य दशमलव ८८ प्रतिशतको वृद्धि हो ।
विभागका अनुसार घरजग्गाको कारोबार नबढे पनि नाफा धेरै भएका जग्गाको कारोबार भएकाले लाभकर बढेको हो । सरकारले घरजग्गा कारोबारमा दुई किसिमले लाभकर उठाउने गरेको छ । घरजग्गा खरिद गरेको ५ वर्षभित्रमा बिक्री गर्दा नाफा भए त्यसको पाँच प्रतिशत लाभकर तिर्नुपर्छ । पाँच वर्षभन्दा बढी समयपछि घरजग्गाको किनबेच गर्दा हुने नाफामा साढे दुई प्रतिशतमात्र लाभकर लाग्ने व्यवस्था छ ।
मालपोत कार्यालयहरुले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन शीर्षकबाट राजस्व उठाउँछन् । यसमध्ये रजिष्ट्रेशनपछि सबैभन्दा बढी राजस्व पुँजीगत लाभकरबाट असुल हुने गरेको छ । यो कानुनी व्यवस्था अनुसार घरजग्गा कारोबार ५ वर्षभित्रमा भइरहे लाभकर बढी असुली हुने सम्भावना हुन्छ ।


