अब पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सो निर्णयपछि आयल निगमले इथानोल खरिदको प्रक्रियासमेत अघि बढाउने भएको छ ।
सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न पाउने व्यवस्था गरेपछि नेपाल आयल निगमलाई लागत घटाउने, पेट्रोल आयात कम गर्ने र आर्थिक घाटा नियन्त्रण गर्ने अवसर खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इथानोल मिश्रणसम्बन्धी आदेश स्वीकृत गरेसँगै निगमले स्वदेशी इथानोल खरिद प्रक्रिया अघि बढाउने तयारी थालेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेको गुणस्तर, परिमाण र मूल्यका आधारमा पेट्रोलमा इथानोल मिसाइनेछ । यसका लागि नेपाल आयल निगमले आवश्यक इथानोल सोझै उद्योगबाट खरिद गरी आफ्ना डिपोमा मिश्रण गरेर देशभरका पेट्रोलपम्पमा वितरण गर्ने वा अन्य वैकल्पिक प्रणाली अपनाउनेबारे अध्ययन गरिरहेको छ ।
हाल देशभर दैनिक १७ लाखदेखि २० लाख लिटरसम्म पेट्रोल खपत भइरहेको अवस्थामा १० प्रतिशत इथानोल मिश्रण लागू भए दैनिक करिब दुई लाख लिटर इथानोल आवश्यक पर्नेछ । यसले सोही अनुपातमा पेट्रोल आयात घट्ने भएकाले निगमको इन्धन आयात खर्च कम हुने र विदेशी मुद्रा बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इथानोलको मूल्य पेट्रोलको तुलनामा सस्तो पर्ने भएकाले निगमलाई प्रत्यक्ष आर्थिक लाभ हुने देखिन्छ । निगमको प्रारम्भिक अध्ययनअनुसार इथानोलको मूल्य प्रतिलिटर करिब १२० रुपैयाँसम्म पर्ने अनुमान छ भने हाल पेट्रोलको मूल्य १५९ रुपैयाँ प्रतिलिटर छ । यही मूल्य अन्तरका कारण इथानोल मिश्रणले निगमको औसत खरिद लागत घटाउने र दीर्घकालमा घाटा नियन्त्रण गर्न मद्दत गर्नेछ ।
के छन् यसका फाईदा ?
सरकारका लागि इथानोल मिश्रणको फाइदा व्यापार घाटा घट्नु हो । पेट्रोल आयात कम हुँदा इन्धन क्षेत्रमा हुने ठूलो मात्राको विदेशी मुद्रा बहिर्गमन घट्ने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने सरकारको बुझाइ छ । साथै, स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने इथानोलको प्रयोग बढ्दा चिनी उद्योग र अन्य औद्योगिक क्षेत्रमा लगानी प्रोत्साहित हुने अपेक्षा गरिएको छ ।
इथानोल मिश्रणले वातावरणीय लाभसमेत दिने बताइएको छ । जैविक इन्धन भएकाले इथानोलले कार्बन उत्सर्जन घटाउन सहयोग गर्ने र वायु प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने विज्ञहरूको भनाइ छ । विश्वका धेरै देशले पेट्रोलमा इथानोल मिश्रणलाई वैकल्पिक ऊर्जा नीतिको रूपमा प्रयोग गरिरहेका छन् ।
यद्यपि हाल स्वदेशी उद्योगको इथानोल उत्पादन क्षमता सीमित भएकाले सुरुवाती चरणमा चुनौती देखिएको छ । उद्योगीहरूले दैनिक औसत ५० हजार लिटर मात्रै इथानोल उपलब्ध गराउन सक्ने जनाउँदै आएका छन् । आवश्यक परिमाण सुनिश्चित गर्न नयाँ प्लान्ट स्थापना र दीर्घकालीन सम्झौताको आवश्यकता पर्ने निगमको निष्कर्ष छ ।
समग्रमा, पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णयले नेपाल आयल निगमलाई लागत घटाउने, घाटा नियन्त्रण गर्ने र आयात निर्भरता कम गर्ने लाभ दिनेछ भने सरकारका लागि व्यापार घाटा घटाउने, स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र वातावरण संरक्षणतर्फ कदम चाल्ने अवसरका रूपमा यो नीति महत्त्वपूर्ण मानिएको छ ।


