राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेपछि विवाद र चर्चामा रहेकी महिला उद्यमी विदुषी राणाले आफ्नो बचाउ गरेकी छन्। सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक राणाले आफू पदको भोको नभई उद्योग क्षेत्रका समस्या र महिलाको आर्थिक सशक्तीकरणको मुद्दा बोकेर संसद् जान लागेको प्रस्ट पारेकी छन्।
व्यक्तिगत महत्त्वाकांक्षा नभई जिम्मेवारी राणाले समानुपातिक सूचीमा आफ्नो नाम पर्नुलाई व्यक्तिगत अधिकारभन्दा पनि आगामी पुस्ताको आवाज बुलन्द गर्ने जिम्मेवारीका रूपमा लिएको बताएकी छन्। “मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ,” उनले लेखेकी छन्। ५५ वर्षको इतिहास बोकेको गोल्ड स्टार जुत्ता उद्योगमा एक दशकभन्दा बढी समयदेखि आबद्ध रहेकी उनले मुलुकको घट्दो उत्पादन, रेमिट्यान्समा बढ्दो निर्भरता र युवा बेरोजगारीप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्।
बालेन शाहको आग्रह र खसआर्य सूचीबारे स्पष्टीकरण आफू संसद् जाने निर्णयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको परामर्शले भूमिका खेलेको उनले खुलासा गरेकी छन्। बालेनले उद्योग र अर्थतन्त्रका मुद्दामा अनुभवी आवाज संसद्मा पुग्नुपर्ने आग्रह गरेपछि आफूले यो जिम्मेवारी स्वीकार गरेको उनको भनाइ छ। साथै, खसआर्य समूहअन्तर्गत सूचीमा परेको विषयमा उनले यो निर्वाचन निर्देशिका बमोजिम नै भएको र यसको मुख्य उद्देश्य स्वदेशी उत्पादनको प्रवर्द्धन र निर्यात वृद्धि गर्नु रहेको स्पष्ट पारेकी छन्।
पद त्यागको तत्परता र प्रतिबद्धता उनले आफ्नो मुख्य चासो पद वा अधिकारमा नभई मुद्दाको सम्बोधनमा रहेको उल्लेख गर्दै भनिन, “यदि भविष्यमा यी एजेन्डालाई कसैले अझ प्रभावकारी रूपमा अघि बढाउन सक्छ भने म पूर्ण सम्मानका साथ यो जिम्मेवारी हस्तान्तरण गर्न तयार छु।” नेपालको भविष्य उत्पादनशील उद्योग र महिलाको आर्थिक सशक्तीकरणमा मात्र सुरक्षित रहेको दाबी गर्दै उनले आफ्नो नयाँ भूमिकामा इमानदार र रचनात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
हेर्नुस् उनको स्पष्टीकरण
मेरो नाम समानुपातिक सूचीमा परेपछि, म यहाँ किन र कुन उद्देश्यका साथ आएको हुँ भन्ने कुरा स्पष्ट गर्नु मेरो दायित्व ठानेकी छु। म समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा पनि जिम्मेवारीका रूपमा बुझ्छु। “समानुपातिक सूची मेरो अधिकार होइन, जिम्मेवारी हो भोलिको पुस्ताको आवाज लिएर यहाँ छु।”
म कहिल्यै व्यक्तिगत राजनीतिक महत्वाकांक्षा बोकेर अघि बढेकी व्यक्ति होइन; मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ। ५५ वर्षभन्दा बढी इतिहास बोकेको गोल्ड स्टार जुत्ता उद्योगसँग म एक दशकभन्दा लामो समयदेखि आबद्ध छु। यस उद्योगमार्फत आज ३,०००–४,००० महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् र त्यसको तीन–चार गुणा बढी परिवार अप्रत्यक्ष रूपमा आय र जीवनसँग जोडिएका छन्। यस यात्राले मलाई गहिरो रूपमा बुझाएको छ कि उद्योग केवल व्यापार मात्र होइन, यो देशको भविष्य निर्माण गर्ने आधार हो। स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास र महिलाको आर्थिक सशक्तीकरण कुनै नारा होइनन्; यी हामीले दैनिक रूपमा भोगिरहेका यथार्थ हुन्।
तर दुःखका साथ भन्नुपर्छ, आज उत्पादन क्षेत्र GDP को पाँच प्रतिशतभन्दा कममा सीमित छ र हाम्रो अर्थतन्त्र रेमिट्यान्स तथा आयातमा अत्यधिक निर्भर बन्दै गएको छ। यसको प्रत्यक्ष असर युवाको रोजगारी, महिलाको आत्मनिर्भरता र राष्ट्रको दीर्घकालीन भविष्यमा परिरहेको छ। यही कारणले विगत धेरै वर्षदेखि मैले उद्योग र उत्पादन क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरू निरन्तर रूपमा उठाउँदै आएको छु, किनभने manufacturing नै समग्र उद्योगको मेरुदण्ड हो।
यही सन्दर्भमा नगर प्रमुख बालेन्द्र शाहज्यूले मलाई समानुपातिक सूचीमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसद्मा अघि बढाउन आग्रह गर्नुभयो। यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन; नेपाली उद्योग बाँचोस्, रोजगारी सिर्जना होस्, महिला आर्थिक रूपमा सक्षम बनून् र नेपाल उत्पादनशील बनोस् भन्ने साझा चिन्ताबाट आएको थियो। गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि मैले यो जिम्मेवारी स्वीकार गरेकी हुँ। मेरो नाम खसआर्य समूहअन्तर्गत समानुपातिक सूचीमा समावेश गरिएको छ, जुन प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२,परिच्छेद–४, दफा १३(३)क(३) बमोजिम हो।
मैले यो जिम्मेवारी कुनै व्यक्तिगत राजनीतिक लाभका लागि होइन, स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणको आवाज संसद्मा उठाउन स्वीकार गरेकी हुँ। संविधान २०७२ ले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार, उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता अपरिहार्य छ भन्ने मेरो दृढ विश्वास छ।
यदि भविष्यमा यी एजेन्डालाई सक्षम र योग्य अझ प्रभावकारी रूपमा अघि बढाउन सक्नुहुन्छ भने, म पूर्ण सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न तयार छु। मेरो चासो पद वा अधिकारमा होइन; मेरो चासो मुद्दा र यसको निरन्तरतामा छ। नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तीकरणमा निर्भर छ। यही विश्वासका साथ म यस भूमिकामा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्ध छु।


