गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रमको लागि अमेरिका आमन्त्रण नगरेको स्पष्ट पारेको छ। संस्थाको नाम जोडेर भइरहेका अनधिकृत गतिविधिहरूप्रति आपत्ति जनाउँदै एनआरएनएले एक प्रेस विज्ञप्ति जारी गरेको हो।
’एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए अमेरिकाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ– ’एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो। संस्थाको नाम, इएनआइ तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ । संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ ।’
अगाडि थपिएको छ,–“संस्थाको जानकारी र आधिकारिक निर्णय बिना गरिने यस्ता क्रियाकलापको जिम्मेवारी एनआरएनए अमेरिकाले लिने छैन। यस्ता गतिविधिमा संलग्न हुनेहरूमाथि कानुनी जोखिम समेत रहनेछ।“
एनआरएनए अमेरिकाले सबै सरोकारवालाहरूलाई भ्रममा नपर्न र आधिकारिक जानकारीका लागि संस्थाको आधिकारिक माध्यममा मात्र भर पर्न अनुरोध गरेको छ। यो घटनाले अमेरिकामा रहेका नेपाली संघ–संस्थाहरूको नाममा हुने ठगी र दुरुपयोगको जोखिमलाई पुनः सतहमा ल्याइदिएको छ।


