लगानी बोर्ड नेपालमा विभिन्न क्षेत्रका ५५ वटा ठूला परियोजनाका लागि १७ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव दर्ता भएका छन्। बोर्डको तथ्यांकअनुसार प्रस्तावित लगानीमध्ये सबैभन्दा धेरै हिस्सा ऊर्जा क्षेत्रले ओगटेको छ भने उत्पादन, पूर्वाधार, पर्यटन, युटिलिटी र सूचना प्रविधि पनि लगानीको प्राथमिकतामा परेका छन्।
लगानी बोर्डका अनुसार ऊर्जा क्षेत्रमा मात्रै ४० वटा आयोजनाका लागि करिब १३ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव दर्ता भएको छ। जलविद्युत, जलाशययुक्त आयोजना र दीर्घकालीन ऊर्जा सुरक्षासँग जोडिएका परियोजनामा लगानीकर्ताको चासो बढेको बोर्डले जनाएको छ।
त्यसैगरी उत्पादन क्षेत्रमा ९ वटा परियोजनाका लागि करिब २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ। औद्योगिक विस्तार, आयात प्रतिस्थापन र रोजगारी सिर्जनासँग जोडिएका उद्योगमा लगानी केन्द्रित देखिएको छ।
पूर्वाधार क्षेत्रमा १ वटा परियोजनाका लागि करिब ६४ अर्ब रुपैयाँ, पर्यटन क्षेत्रमा २ वटा आयोजनामा करिब ७१ अर्ब रुपैयाँ र युटिलिटी क्षेत्रमा ३ वटा परियोजनाका लागि करिब ६ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव दर्ता भएको लगानी बोर्डले जनाएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का प्रतिनिधिसँग सोमबार भएको छलफलमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रणाली सुधार र तत्काल देखिने परिणाम दिने कामलाई सँगै अघि बढाउने प्रयास भइरहेको बताए। उनले कृषि मल कारखाना, जलाशययुक्त जलविद्युत आयोजना र सूचना प्रविधि पार्कलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरे।
उनका अनुसार सुक्खायामको विद्युत अभाव र वर्षायामको बाढी नियन्त्रणका लागि जलाशययुक्त आयोजना महत्वपूर्ण रहेको र सेती जलविद्युत आयोजना कार्यान्वयनतर्फ अघि बढाउन आन्तरिक तयारी तीव्र पारिएको छ। साथै, युवालाई रोजगारीसँग जोड्न सूचना प्रविधि पार्क र भविष्यको ऊर्जाका रूपमा हरित हाइड्रोजनमा समेत ध्यान केन्द्रित गरिएको छ।
सीईओ ज्ञवालीले लगानी आकर्षित गर्न कानुनी संरचना र प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारी कर्मचारी र विज्ञको संयोजनमा लगानीकर्तालाई छिटो सेवा दिने संयन्त्र निर्माणको तयारी भइरहेको जानकारी दिए। यद्यपि १६औँ पञ्चवर्षीय योजनामा पाँच वर्षमा १११ खर्ब रुपैयाँ लगानीको लक्ष्य रहे पनि हाल वार्षिक १०–१२ खर्ब रुपैयाँको लगानी अपुग देखिएको उनले बताए।


