चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस अवधिमा वैदेशिक लगानीको मुख्य आकर्षण साना उद्योगतर्फ केन्द्रित देखिएको उद्योग विभागले जनाएको छ ।
उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । स्वीकृत उद्योगमध्ये ४६० वटा साना, ८ वटा मध्यम र ७ वटा ठूला उद्योग रहेका छन् । यस अवधिमा मात्रै यी उद्योगमार्फत २० हजार १२२ रोजगारी सिर्जना हुने अनुमान छ ।
विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ तथा स्वीकृति मार्ग (अप्रुभल रुट) बाट १६१ उद्योगमा ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा अप्रुभल रुटमार्फत आएको लगानी अत्यधिक देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा चालु आवको अर्धवार्षिक अवधिमा उद्योग संख्या र लगानी रकम दुवै बढेका छन् ।
चालु आवको पहिलो छ महिनामा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि ३ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, ३१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) पनि स्वीकृत भएको विभागले जनाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा उद्योग संख्या अनुसार सूचना प्रविधिमूलक क्षेत्र अगाडि देखिएको छ । यस क्षेत्रमा २५७ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्र शीर्ष स्थानमा रहेको छ । कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसैगरी उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा ५९ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । हालसम्म उद्योग विभागले ७ हजार ७१३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको जनाएको छ ।


