Banijya News

नेपालको पुनर्निर्माण र विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्बको विशेष प्याकेज घोषणा

1
1.0K Shares

भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड अर्थात २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विशेष सहयोग प्याकेज घोषणा गरेको छ । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत अगस्टको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माण र आर्थिक विकासलाई गति दिन यो प्याकेजको घोषणा गरेका हुन् । दुई देशबीचको सम्बन्ध छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासमा आधारित रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले प्रतिकूल परिस्थितिका बाबजुद भारतले इन्धन, रासायनिक मल र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखेको बताए ।

भ्रमणका क्रममा नेपाल र भारतबीच विकास र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन ‘संयुक्त भिजन डकुमेन्ट’ जारी गर्नुका साथै आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपालका मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले हस्ताक्षर गरेका हुन् । यस सहकार्यले दुवै देशको परम्परागत चिकित्सा प्रणालीको संरक्षण, अनुसन्धान र स्वास्थ्य सेवा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

यसैगरी, भारतले नेपालको प्रविधि, कृषि, शिक्षा र खेलकुद क्षेत्रको विकासमा ठोस सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ सहकार्यअन्तर्गत नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब, आईआईटीको अफसोर क्याम्पस र खाद्य प्रशोधनका लागि एग्रो–इन्डस्ट्रियल पार्क स्थापना गर्न भारतले सघाउनेछ । साथै, नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिको अवसर बढाउनुका साथै नेपालको क्रिकेट पूर्वाधार विकास र खेलाडीहरूको प्रवद्र्धनमा समेत भारतले विशेष सहयोग गर्ने घोषणा गरिएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व र विकासप्रतिको दृष्टिकोणको खुलेर प्रशंसा गरेका छन् । केही घण्टाको द्विपक्षीय संवादका क्रममा आफूले बालेनमा देश विकासको स्पष्ट भिजन महसुस गरेको मोदीको भनाइ छ । साथै, प्रधानमन्त्री बनेपछि बालेनले संयुक्त राष्ट्रसंघ (युएन) को समारोहमा दिएको मन्तव्यको समेत प्रशंसा गर्दै मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, संस्कृति र विश्वासले अझ मजबुत बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।

1

Scroll to Top