पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको छ । तीमध्ये मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ । तर बरौनी रिफाइनरीमा पुरानो प्लान्टका कारण बारम्बार मर्मत आवश्यक पर्ने भएकाले बीच–बीचमा दुई–चार दिनसम्म ग्यास लोड नै हुन नसकेको निगमको भनाइ छ ।
जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ । नेपालमा प्रतिमहिना करिब ४७–४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा चालु महिनामा आयात ४२–४३ हजार मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ । यसरी चार–पाँच हजार मेट्रिक टनसम्म ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको छ ।
अर्कोतर्फ, बरौनीबाट ग्यास नपाउँदा पारादीप (ओडिसा) जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने अवस्था आउँदा ढुवानीका साधनको अभाव पनि समस्या बनेको चन्दको भनाई छ । उनका अनुसार गाडी समयमै नपुग्दा लोडिङ प्रभावित भएको छ । ग्यास आयातमा देखिएको समस्या करिब २०–२५ दिनदेखि रहे पनि बजारमा भने पछिल्लो एक–डेढ हप्तादेखि मात्र प्रत्यक्ष प्रभाव देखिन थालेको हो ।


