अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कोटोलीले नेपालमा आर्टिकल आईभी परामर्श तथा विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत सातौँ समीक्षासम्बन्धी छलफल सम्पन्न गरेको छ । टोलीले फेब्रुअरी ६ देखि २० सम्म काठमाडौँमा बसेर नेपाल सरकार, केन्द्रीय बैंक, निजी क्षेत्र तथा विकास साझेदारहरूसँग गहन छलफल गरेको हो । भ्रमणको अन्त्यमा जारी गरिएको वक्तव्यअनुसार, सातौँ समीक्षा पूरा गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधारमा कर्मचारी–स्तरको सहमति भएको छ ।
उक्त सहमति आईएमएफको कार्यकारी बोर्डबाट अनुमोदन भएपछि नेपालले ४३.२ मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गर्नेछ । यससँगै ईसीएफ कार्यक्रमअन्तर्गत नेपालले हालसम्म पाउने कुल रकम ३८४.४ मिलियन अमेरिकी डलर पुग्नेछ । आईएमएफ टोलीले चुनौतीपूर्ण घरेलु तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेशका बीच पनि ईसीएफ समर्थित कार्यक्रमको कार्यान्वयन सन्तोषजनक रहेको टिप्पणी गरेको छ । टोलीका अनुसार सन् २०२५ जुलाई मध्यसम्मका सबै परिमाणात्मक लक्ष्यहरू पूरा भएका छन्, यद्यपि बालकल्याण अनुदानसम्बन्धी सूचक लक्ष्य सामान्य रूपमा छुटेको छ ।
आईएमएफको सातौँ समीक्षाअन्तर्गत नेपालले भन्सार अनुपालन सुधार रणनीति स्वीकृत गरेको छ । साथै ऋण पोर्टफोलियो समीक्षा (एलपीआर) अन्तर्गत साइटमै निरीक्षण सम्पन्न गरिएको छ भने बैंक सम्पत्ति वर्गीकरण नियमहरूलाई बेसल समिति मार्गदर्शनसँग समायोजन गरिएको छ ।
सन् २०२१ मा गरिएको सेफगार्ड मूल्यांकन तथा २०२३ को वित्तीय क्षेत्र स्थिरता प्रतिवेदनका सिफारिसहरू समेट्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन मस्यौदामा सहमति भएको छ । उक्त संशोधन संसदमा पेश गर्नु ईसीएफ कार्यक्रमअन्तर्गतको महत्वपूर्ण संरचनात्मक सुधारका रूपमा लिइएको छ । आईएमएफले केन्द्रीय बैंकको कानुनी र संस्थागत ढाँचा सुदृढीकरणले मौद्रिक नीति तथा वित्तीय स्थिरतामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरेको छ । आईएमएफ टोलीले हालको राजनीतिक र आर्थिक अनिश्चितताले आर्थिक गतिविधि तथा निजी क्षेत्रको विश्वासमा दबाब परेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०२५÷२६ मा नेपालको आर्थिक वृद्धि दर ३ देखि ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन सम्भावित क्षमताभन्दा कम मानिएको छ । कमजोर घरेलु माग, निजी लगानीमा सुस्तता र पूँजीगत खर्चको कम कार्यान्वयनले वृद्धि दरलाई सीमित बनाइरहेको आईएमएफको विश्लेषण छ ।
जनवरी २०२६ मा वार्षिक आधारमा मुद्रास्फीति २.४ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै आईएमएफले मूल्य स्थिरता सन्तोषजनक रहेको जनाएको छ । राजस्व संकलन मध्यम दरमा बढिरहेको र पूँजीगत खर्चको मध्यावधि प्रक्षेपण पुनरावलोकन गरिएको उल्लेख गर्दै आईएमएफले वित्तीय अनुशासन कायम राख्नु पर्ने सुझाव दिएको छ ।
आईएमएफले नेपालको बाह्य क्षेत्र अपेक्षाकृत सबल रहेको जनाएको छ । रेमिट्यान्स प्रवाह र पर्यटन आम्दानी मजबुत रहँदा आयात वृद्धि सुस्त भएको उल्लेख छ । विदेशी मुद्रा सञ्चिति पर्याप्त स्तरभन्दा माथि रहेको र चालु खाताको स्थिति पनि व्यवस्थापनयोग्य रहेको आईएमएफको मूल्यांकन छ । यसले बाह्य झट्काबाट अर्थतन्त्रलाई केही हदसम्म सुरक्षा प्रदान गरेको जनाएको छ । तर, दीर्घकालीन रूपमा निर्यात प्रवद्र्धन, उत्पादन विविधीकरण र विदेशी लगानी आकर्षणमा सुधार आवश्यक रहेको सुझाव आईएमएफले दिएको छ ।
आईएमएफले नेपालको वित्तीय क्षेत्रप्रति चिन्ता व्यक्त गरेको छ । जनवरी २०२६ मा बैंकहरूको गैर–सञ्चालन ऋण (एनपीएल) ५.४ प्रतिशत पुगेको र हालै सम्पन्न ऋण पोर्टफोलियो समीक्षा (एलपीआर) का आधारमा यो आँकडा अझै माथि संशोधन हुन सक्ने आँकलन गरिएको छ । एनपीएल वृद्धि बैंकहरूको पुँजी स्थिति र वित्तीय स्थिरतामा जोखिम बन्न सक्ने भन्दै आईएमएफले बैंक सन्तुलनपत्र सुदृढीकरण, नियामकीय सुधार र सुपरिवेक्षण प्रणाली मजबुत बनाउन सिफारिस गरेको छ । एलपीआर प्रतिवेदनले बैंकिङ क्षेत्र सुधारका थप नीतिगत सिफारिस गर्ने अपेक्षा गरिएको छ । साथै, बचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था अझै चुनौतीपूर्ण रहेको भन्दै आईएमएफले सहकारी क्षेत्रको नियमन, सुपरिवेक्षण र संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गरेको छ ।
आईएमएफले राजस्व संकलन सुदृढीकरण, पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन तथा खर्च दक्षता सुधारमार्फत मध्यम अवधिमा आर्थिक वृद्धि प्रवद्र्धन गर्न सुझाव दिएको छ । हालको सहुलियतपूर्ण मौद्रिक नीति उपयुक्त रहेको टिप्पणी गर्दै आईएमएफले तरलता व्यवस्थापन सुदृढ गर्न मौद्रिक उपकरण सशक्त बनाउन आग्रह गरेको छ ।
वित्तीय अनुशासन कायम राख्दै सामाजिक खर्चलाई प्राथमिकता दिनु र पूँजीगत खर्चको कार्यान्वयन क्षमता सुधार गर्नु सरकारका लागि प्रमुख चुनौती रहेको आईएमएफले औंल्याएको छ । आईएमएफले वित्तीय स्थिरता सुनिश्चित गर्न गैर–सञ्चालन ऋण असुली रणनीति, सम्पत्ति वर्गीकरण तथा प्रावधान सम्बन्धी कमजोरी सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
केन्द्रीय बैंकको स्वतन्त्रता र सुशासन मजबुत बनाउन नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ । सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) स्थापना गर्दा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास अपनाउन सुझाव दिँदै आईएमएफले खराब ऋण व्यवस्थापनका लागि संस्थागत संरचना तयार गर्नुपर्ने उल्लेख गरेको छ । मनी लाउन्डरिङ विरुद्धको रूपरेखा प्रभावकारी कार्यान्वयन गरी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे–लिस्टबाट शीघ्र बाहिरिन पहल गर्न पनि सिफारिस गरिएको छ ।
आईएमएफ टोलीले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेल लगायत वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेको जनाएको छ । त्यस्तै, निजी क्षेत्र, थिंक ट्यांक, बैंक तथा वित्तीय संस्था, विकास साझेदार तथा अन्य सरोकारवालासँग पनि छलफल भएको थियो । यी छलफलमा आर्थिक सुधार, वित्तीय स्थिरता, निजी क्षेत्रको लगानी वातावरण, सामाजिक सुरक्षा र दीर्घकालीन विकास रणनीतिबारे विचार–विमर्श भएको बताइएको छ ।
आईएमएफको सातौँ समीक्षा प्रतिवेदनले नेपालका लागि अवसर र चुनौती दुवै देखाएको छ । एकातर्फ, बाह्य क्षेत्र सुदृढ, मुद्रास्फीति नियन्त्रणमा र आर्थिक कार्यक्रमको कार्यान्वयन सन्तोषजनक रहेको संकेत दिएको छ । अर्कोतर्फ, कमजोर आर्थिक वृद्धि, वित्तीय क्षेत्रका जोखिम, सहकारी संकट र संरचनात्मक सुधारको आवश्यकता स्पष्ट रूपमा औंल्याइएको छ ।
विश्लेषकहरूका अनुसार आईएमएफसँगको सहमति नेपालका लागि वित्तीय स्रोत प्राप्त गर्ने मात्र नभई आर्थिक सुधारका लागि मार्गदर्शन गर्ने महत्वपूर्ण अवसर हो । तर, घोषणापत्र र सहमतिमा सीमित नरही सुधार कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता, प्रशासनिक क्षमता र निजी क्षेत्रको सहकार्य आवश्यक पर्ने उनीहरूको भनाइ छ ।
आईएमएफ टोलीको सातौँ समीक्षा नेपालका लागि महत्त्वपूर्ण आर्थिक माइलस्टोनका रूपमा लिइएको छ । कर्मचारी–स्तरको सहमति र बोर्ड अनुमोदनपछि प्राप्त हुने ४३.२ मिलियन अमेरिकी डलरले नेपाललाई वित्तीय सन्तुलन र सुधार प्रक्रियामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । तर, दीर्घकालीन रूपमा आर्थिक वृद्धि प्रवद्र्धन, वित्तीय स्थिरता सुनिश्चित, सहकारी र बैंकिङ क्षेत्र सुधार तथा सुशासन सुदृढीकरण सरकारका लागि प्रमुख चुनौती रहने स्पष्ट छ । आईएमएफको सिफारिस कार्यान्वयन र संरचनात्मक सुधारमा निरन्तरता दिन सके नेपालले आर्थिक स्थायित्व र दिगो विकासको लक्ष्य हासिल गर्न सक्ने विज्ञहरूको निष्कर्ष छ ।


