पछिल्ला महिनामा अमेरिकी डलर लगायत विदेशी मुद्राको विनिमय दरमा उतारचढाव हुँदा नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमा करिब ९३ अर्ब रुपैयाँ अतिरिक्त भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, माघ मसान्तसम्म विनिमय दरको वृद्धिले तिर्न बाँकी ऋणको रकम थपिएको हो । यस आर्थिक वर्षको सात महिनामा सार्वजनिक ऋण करिब १ खर्ब ८४ अर्ब बढी भएर २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । यो कुल ऋणको ५२.८१ प्रतिशत वैदेशिक र बाँकी आन्तरिक ऋण हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५५ अर्ब रुपैयाँ ऋण संकलन गरिसकेको छ, जुन वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो ।
माघ मसान्तसम्म सरकारले ऋणको साँवा–ब्याजमा २ खर्ब ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । चालु आर्थिक वर्षमा साँवा–ब्याज भुक्तानीको लागि ४ खर्ब ११ अर्ब विनियोजन गरिएको छ । असार २०८२ देखि माघ २०८४ सम्म नेपाली रुपैयाँ अमेरिकी डलरसँग करिब ४.९ प्रतिशतले अवमूल्यन भएको छ । यसले सार्वजनिक ऋण तिर्न थप भार परेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कुल सार्वजनिक ऋणमा आन्तरिक ४७.१९ प्रतिशत अथवा १३ खर्ब ४९ अर्ब र वैदेशिक ५२.८१ प्रतिशत अथवा १५ खर्ब ९ अर्ब रुपैयाँ छ ।
गएको सात महिनामा सरकारले २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ ऋण संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋणको प्राप्ति ६०.१३ र वैदेशिक ऋणको १६.१८ प्रतिशत छ । यसरी संकलित कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण ८५.२० र वैदेशिक १४.८० प्रतिशत छ । यसका आधारमा यस वर्ष तय भएको कुल ऋण संकलनको लक्ष्य प्राप्ति गर्न ३ खर्ब ४० अर्ब १७ करोड रुपैयाँ उठाउनुपर्छ । यसमा आन्तरिक ऋण १ खर्ब ४४ अर्ब ३३ करोड र वैदेशिक ऋण १ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ छ ।
गत माघसम्म सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ खर्चिएको छ । यो वार्षिक लक्ष्यको ४९.५५ प्रतिशत हो । यस वर्ष सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । गत माघसम्म सरकारले भुक्तानी गरेको कुल रकममध्ये १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ साँवा र बाँकी ४० अर्ब १३ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ । सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ ।
यसकारण उक्त अवधिमा उठाइएको २ खर्ब ५५ करोड ४८ करोड साँवा भुक्तानीमा खर्च भएको १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ९२ अर्ब ९६ करोड गएको दुई महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । विनियम दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा छ भने बाँकी वर्षमा नाफामा । यस वर्ष पनि प्रायः महिनामा नेपालले नोक्सानी बेहोर्नुपरेको छ ।
असार २०८२ को तुलनामा गत माघसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.९ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४.०१ रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर १३७ रुपैयाँ थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९४ हजार रुपैयाँ बराबर पर्न आउँछ । राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत असारसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गरेर उक्त तथ्यांक निकालिएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा र गत आर्थिक वर्षमा वित्तीय व्यवस्थापन शीर्षकको विनियोजनले पुँजीगत खर्चको आकारलाई उछिनेको थियो । तर चालु आर्थिक वर्षमा यो अवस्था छैन । बढ्दो ऋण चुक्ता दायित्वसँगै पुँजीगत खर्चको स्तर र वित्तीय व्यवस्थाका लागि विनियोजित बजेटबीचको अन्तर फराकिलो हुँदै जाँदा भविष्यमा सरकारको लगानी गर्न सक्ने सामर्थ्यमा संकुचन ल्याउने जोखिम हुन्छ । परिणाम वित्तीय असन्तुलनको खतरा पनि उत्तिकै रहेको अर्थविद्को भनाइ छ ।


