पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको प्रभाव पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक करिडोरमा देखिन थालेको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव, उपलब्ध सामग्रीको मूल्यवृद्धि तथा ढुवानी लागत बढ्दै जाँदा यहाँका उद्योग सञ्चालनमा दबाब बढेको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा औद्योगिक कच्चा पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको छ भने आपूर्ति पनि अनिश्चित बनेको छ। बढेको मूल्यमा पनि कच्चा पदार्थ सहजै उपलब्ध हुन नसकेको र पाइए पनि ढुवानी प्रक्रिया अवरुद्ध हुँदा उद्योग सञ्चालनमा थप समस्या सिर्जना भएको छ।
इरान, अमेरिका र इजरायलबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा वनस्पति तेल र प्लास्टिक दानाको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ l भारत र अन्य तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने सिपमेन्ट कम्पनीहरूले समेत सामान पठाउन कठिन भएको बताउन थालेका छन्। यसका कारण उद्योगी व्यवसायीले पछिल्लो समय नयाँ प्रतितपत्र (एलसी) खोल्नसमेत हिच्किचाइरहेका छन्।
एमएम प्लास्टिक उद्योगका सञ्चालकसमेत रहेका उनले प्लास्टिक दानाको मुख्य स्रोत क्रुड पेट्रोलियम भएकाले विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुँदा दानाको उत्पादन घटेको बताए। उनका अनुसार युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति शृंखला बिग्रिएको छ र त्यसले लजिस्टिक खर्चसमेत बढाएको छ। पश्चिम एसियाको महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ युद्धको प्रभावमा परेपछि समस्या थप जटिल बनेको उद्योगीहरूको भनाइ छ। यो मार्ग प्रभावित हुँदा तेल र पेट्रोलियमजन्य पदार्थको अन्तर्राष्ट्रिय ढुवानीमा अवरोध आएको उनीहरू बताउँछन्।
औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु भनेको समग्र उत्पादन लागत बढ्नु हो। यसले वस्तु तथा सेवाको मूल्यसमेत स्वतः बढाउने भएकाले यसको प्रभाव व्यापक रूपमा अर्थतन्त्रमा पर्ने निश्चित छ। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले युद्ध सुरु भएयता प्लास्टिक दानाको मूल्य करिब ४० प्रतिशतले बढिसकेको बताए। यसले प्लास्टिकमा आधारित उद्योगहरू प्रत्यक्ष प्रभावित बनेका छन्।
लोटस प्लास्टिक उद्योगका सञ्चालक राठीका अनुसार युद्धअघि टनको करिब ९ सय डलर पर्ने एचडीपीई र पीपी दानाको मूल्य हाल १ हजार ३ सय डलरसम्म पुगेको छ। भारतका निर्यातकर्ताले आर्थिक वर्षको क्लोजिङको कारण देखाउँदै नयाँ अर्डर लिन अस्वीकार गरिरहेका छन् भने अर्डर भइसकेका सामानको सिपमेन्टसमेत ढिला भइरहेको छ। नेपालका उद्योगीले प्रायः भारतका रिलायन्स, ओपल र भारतीय आयल कर्पोरेसनबाट प्लास्टिक दाना आयात गर्ने गर्छन्। त्यस्तै भियतनाम, कोरिया, मध्यपूर्व तथा थाइल्यान्डलगायत देशबाट पनि दाना ल्याइने गरेको उद्योगीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा दानाको मूल्यवृद्धि र अभावका कारण प्लास्टिकका भाँडाकुँडा, खेलौना, फर्निचर, त्रिपाल, बोरा, पाइप, पेट बोतल, प्याकेजिङ सामग्री तथा जुत्ता–चप्पल उत्पादन गर्ने उद्योगहरू प्रभावित भएका छन्।
युद्धको असर वनस्पति तेल उद्योगमा पनि देखिन थालेको छ। उद्योगीहरूका अनुसार कच्चा वनस्पति तेलका निर्यातकर्ताले नयाँ अर्डर लिन छाडेका छन् भने अर्डर भइसकेका सामानको सिपमेन्टसमेत रोकिएको छ। पशुपति खाद्य तेल उद्योगका सञ्चालक अमित शारडाले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र आपूर्ति अनिश्चितताका कारण निर्यातकर्ताले नयाँ अर्डर नलिन आग्रह गरिरहेको बताए। उनका अनुसार युद्धअघि टनको १ हजार २२० डलर रहेको भटमासको कच्चा तेलको मूल्य अहिले करिब १ हजार २८० डलरसम्म पुगेको छ। यो तेल मुख्यतः अर्जेन्टिना र ब्राजिलबाट आयात गरिन्छ।
त्यस्तै सूर्यमुखीको कच्चा तेलको मूल्य पनि युद्धअघि टनको १ हजार ४ सय डलर रहेकोमा अहिले १ हजार ५२० डलरसम्म पुगेको उद्योगीहरूले बताएका छन्। यो तेल मुख्यतः युक्रेन र अर्जेन्टिनाबाट आयात हुने गर्दछ। उद्योगीहरूका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा ल्याएको अवरोधका कारण कच्चा पदार्थको अभाव र मूल्यवृद्धि अझै बढ्न सक्ने चिन्ता उद्योग क्षेत्रमा बढ्दै गएको छ।


