Banijya News

पश्चिम एसिया युद्धको असर इन्धन देखि नेपाली भान्सासम्म

1
1.1K Shares

पश्चिम एसियामा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि त्यसको सीधा असर नेपाली उपभोक्ताको भान्सासम्म पुगेको छ । मूल्यवृद्धिको दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै दैनिक उपभोग्य वस्तु महँगिने संकेत देखिएको हो ।

निगमले सोमबार साँझदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल १५२ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि र भारतीय आयल निगमबाट आएको नयाँ दरका आधारमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च वृद्धि हुने भएकाले त्यसको प्रभाव तरकारी, खाद्यान्न, दाल, तेललगायत उपभोग्य वस्तुमा पर्ने निश्चित देखिएको छ । उत्पादन लागतसमेत बढ्ने हुँदा समग्र बजारमा महँगीको चाप बढ्ने अर्थविद्हरू बताउँछन् । निगमका अनुसार अन्तर्राष्ट्रिय मूल्यअनुसार पूर्ण रूपमा समायोजन नगर्दा केही भार मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने व्यवस्था गरिएको छ । यद्यपि हालको मूल्यमा पनि निगम १५ दिनमा झन्डै ३ अर्ब ९३ करोड रुपैयाँ घाटामा रहने दाबी गरिएको छ ।

नेपालमा पेट्रोलियम पदार्थको आयात र मूल्य निर्धारणमा निगमकै एकाधिकार रहँदै आएको छ । भारतीय आयल निगमले १५–१५ दिनमा पठाउने मूल्यसूचीका आधारमा यहाँ मूल्य तय गरिन्छ । कहिलेकाहीँ आन्तरिक कारणले मूल्य स्थिर राखिए पनि पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा उच्च वृद्धि भएकाले समायोजन गर्नुपरेको निगमको भनाइ छ ।

अर्थविद्हरूका अनुसार यदि पश्चिम एसियाको तनाव लम्बियो भने नेपालमा उपभोक्ता मूल्य ८ देखि ९ प्रतिशतसम्म बढ्न सक्छ । इन्धन महँगिँदा रासायनिक मलको मूल्यसमेत बढ्ने भएकाले यसको असर कृषि उत्पादन र खाद्य सुरक्षामा समेत पर्न सक्ने देखिन्छ । यसैबीच, यातायात व्यवसायीहरूले इन्धन मूल्यवृद्धिपछि भाडा समायोजनको माग गरेका छन् । उनीहरूका अनुसार पेट्रोलियम पदार्थ महँगिँदा सार्वजनिक सवारी सञ्चालन खर्च बढ्ने भएकाले भाडा बढाउन दबाब परेको हो । यसरी अन्तर्राष्ट्रिय राजनीतिक तनावले सुरु गरेको मूल्यवृद्धिको प्रभाव क्रमशः नेपाली बजार हुँदै सर्वसाधारणको दैनिक जीवनसम्म फैलिन थालेको छ ।

1

Scroll to Top