Banijya News

मध्यपूर्व संकट र डिजेलको मूल्यवृद्धिको बहानामा बजारमा चर्को मूल्यवृद्धि

1
1.2K Shares

मध्यपूर्वमा चर्किएको द्वन्द्व र डिजेलको मूल्यवृद्धिलाई बहाना बनाएर उद्योगी तथा व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि गर्दै आएका छन । नेपाल आयल निगमले डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ बढाएको एक साता नबित्दै र अन्तर्राष्ट्रिय तनावको असर स्वदेशी बजारमा पर्नु अगावै खाद्यान्न, तेल, तरकारी र निर्माण सामग्रीको भाउ आकाशिएको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार चामल, दाल र गेडागुडीको मूल्यमा तीव्र वृद्धि देखिएको छ । पेप्सीकोलास्थित एक खुद्रा पसलमा २० किलोको थकाली चामलको मूल्य एक सातामै १ सय ७५ रुपैयाँले बढेर तिन हजार तिन सय ७५ रुपैयाँ पुगेको छ । यस्तै, मुसुरोको दालमा प्रतिकिलो ५०, रहरमा ७० र मुङको दालमा ८० रुपैयाँसम्म मूल्य बढाइएको छ । खानेतेलको मूल्यमा त झन् प्रतिलिटर ९५ देखि १३० रुपैयाँसम्मको अस्वाभाविक वृद्धि गरिएको छ । खाद्यान्न मात्र नभई तरकारी, फलफूल, सिमेन्ट र फलामे डण्डीको मूल्यमा समेत अधिक वुद्धि आएको छ ।

संघीय संसद्को निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया चलिरहेकाले हालको ’तरल’ राजनीतिक अवस्थाको फाइदा व्यवसायीले उठाएका हुन् । निवर्तमान मन्त्रीहरू बिदाइको मुडमा रहेको र प्रशासनिक संयन्त्र मात्र क्रियाशील रहेको मौका छोपी बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि सिर्जना गरिएको उपभोक्ताहरूको गुनासो छ । सरकारले तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको दाबी गरे पनि बजारमा भने तत्कालै मूल्य बढ्नुलाई ’नाफाखोरी प्रवृत्ति’ मानिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सरकारसँग वास्तविक मौज्दातको तथ्यांक नहुँदा समस्या भएको स्वीकार गरेका छन । उनले पुरानो मौज्दात र नयाँ आयातको विवरण हेरेर अनुगमन गरिने र बढी मूल्य लिनेलाई कारबाही गरिने बताए । यता, खुद्रा व्यापार संघका महासचिव अमूल काजी तुलाधरले ठूला थोक व्यापारीले नयाँ मूल्य सूची पठाएका कारण खुद्रा मूल्य बढाउनु परेको बताउँदै यसमा ठूला व्यवसायी नै दोषी रहेको उल्लेख गरका छन ।

मध्यपूर्वको युद्ध लम्बिँदै गएमा पेट्रोलियम पदार्थको अभाव, रेमिट्यान्समा गिरावट र औद्योगिक कच्चा पदार्थको अभाव हुन सक्ने भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठका अनुसार, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा नेपाली अर्थतन्त्र रक्षात्मक मोडमा पुगेको छ । ढुवानी भाडा औपचारिक रूपमा समायोजन नहुँदै गरिएको यो मूल्यवृद्धिले विशेषगरी दैनिक ज्यालामजदुरी गर्ने निम्न वर्गलाई सबैभन्दा ठूलो मार पारेको हो ।

1

Scroll to Top