Banijya News

नेपालमा कुखुरापालन व्यवसाय : वार्षिक ६१ अर्बको कारोबार–विस्तार

1
1.1K Shares

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ’व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ अनुसार नेपालमा कुखुराको मासुको कारोबारले ठूलो आर्थिक हिस्सा ओगटेको छ । एक वर्षको अवधिमा ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको मासु कारोबार हुने गरेको उक्त तथ्याङक्ले देखाएको छ ।

मासुका अतिरिक्त वार्षिक १४ अर्ब ८२ करोडको अन्डा, १० अर्ब २२ करोडको चल्ला र करिब एक अर्ब रुपैयाँ बराबरको कुखुराको मल उत्पादन तथा बिक्री हुने गर्दछ । देशभर सञ्चालित २२ हजार ९ सय २८ फार्ममध्ये ९२ प्रतिशत किसान मासु उत्पादनमै केन्द्रित छन् भने अन्डा उत्पादनमा ७.४ प्रतिशत र चल्ला उत्पादनमा ०.५ प्रतिशत मात्रै संलग्न रहेका छन् । देशका अधिकांश भागमा कुखुरापालन व्यवसाय विस्तार भइसके पनि मनाङ र मुस्ताङमा अझै व्यावसायिक स्तरमा सुरु हुन सकेको छैन

यस क्षेत्रमा करिब ६३ हजार ८ सयभन्दा बढी कृषक तथा कामदार संलग्न छन्, जसमा महिलाको सहभागिता पनि उल्लेख्य छ । आर्थिक पक्षबाट हेर्दा कुखुरापालनमा वार्षिक करिब ७९ अर्ब रुपैयाँ खर्च हुने गरेको छ भने व्यवसायीहरूको स्थायी सम्पत्ति ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । व्यवसाय सञ्चालन गर्नेहरूमा ३५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरू सबैभन्दा बढी सक्रिय देखिएका छन् र आधाभन्दा बढी व्यवसायीले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका छन l यद्यपि, दर्ताको प्रक्रियामा भने अझै सुधारको खाँचो देखिन्छ; कुल फार्ममध्ये ६३.७ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएका छन् ।

विगत १० वर्षको तथ्याङ्क हेर्दा नेपालमा कुखुरा फार्मको सङ्ख्यामा समग्रमा ४.४ प्रतिशतले वृद्धि भएको छ । वि.सं. २०७२ मा २१ हजार ९ सय ५६ रहेको फार्म सङ्ख्या २०८२ मा आइपुग्दा २२ हजार ९ सय २८ पुगेको छ । प्रादेशिक रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उच्च ६१.८ प्रतिशतले व्यवसाय विस्तार भएको देखिएको छ भने लुम्बिनीमा ३.३ प्रतिशत र कर्णालीमा ३.६ प्रतिशतले फार्मको सङ्ख्या घटेको छ । बागमती प्रदेश अझै ३४.४ प्रतिशत हिस्सासहित कुखुरापालनको मुख्य केन्द्र बनेतापनी दश वर्षको अन्तरालमा यसको कुल हिस्सामा केही गिरावट आएको छ ।

व्यावसायिक फड्को मारे तापनि यो क्षेत्र अझै पनि विभिन्न जोखिमबाट बाहिर निस्कन सकेको छैन । रोग र अन्य विविध कारणले आधाभन्दा बढी फार्ममा क्षति पुग्ने गरेको तथ्याङ्कले देखाएको छ । यति ठूलो क्षति हुँदा पनि बिमा र सरकारी अनुदानमा कृषकहरूको पहुँच निकै कमजोर पाइएको छ । जम्मा ४ प्रतिशत फार्मले मात्रै बिमा गरेका छन् भने पछिल्लो तीन वर्षमा ५.६ प्रतिशत कृषकले मात्र सरकारी अनुदान प्राप्त गर्न सकेका छन् । यसले व्यावसायिक सुरक्षा र सरकारी सहयोगको दायरा बढाउनुपर्ने आवश्यकतालाई प्रस्ट्याउँछ ।

1

Scroll to Top