उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले एक सय ६६ बुँदामा आफ्नो कार्यकालमा गरेका कामको कार्यप्रगतिमा सार्वजनिक गरेका छन् । खासगरी औद्योगिक पूर्वाधार निर्माण तथा सञ्चालनमा प्राथमिकता दिएको र व्यापार सहजीकरणका लागि कूटनीतिक पहल गरेको उनले आफ्नो कार्यप्रगतिमा उल्लेख गरेका छन् । त्यस्तै, विभिन्न नीति, नियम तथा मापदण्ड तयार गरेकोसमेत उनले उल्लेख गरेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)को मासिक भाडादर प्रतिवर्ग मिटर २० रुपैयाँबाट घटाएर ५ रूपैयाँ कायम गराएको, तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादन गर्ने कारखानाका लागि एक करोड अनुदान दिएको, धौवादी फलाम खानी पहुँचमार्ग निर्माणका लागि डिभिजन सडक कार्यालय भरतपुरलाई अख्तियारी दिएको, औद्योगिक क्षेत्रमा नयाँ १४ वटा उद्योगको स्थापना भएको, उद्योगी तथा सेवाग्राहीहरूले अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको, मोतिपुर औद्योगिक क्षेत्रको ब्लकलाई लिजमा दिने प्रक्रिया सुरु भएको, लक्ष्मीपुर औद्योगिक क्षेत्रको डिपिआर र इआइएका लागि परामर्शदाता नियुक्त गर्ने तयारी थालिएको उनले उल्लेख गरेका छन् ।
मन्त्री सिन्हाले सुशासन मार्गचित्र तयार गरेको, विद्युतीय व्यापार (ई–कमर्स)सम्बन्धी निर्देशिका २०८२ जारी गरेको, नयाँ औद्योगिक नीतिको प्रारम्भिक मस्यौदा तयार गरेको, सार्वजनिक संस्थानहरूको अद्यावधिक प्रोफाइल तयार गरेको, स्वचालित प्रणालीबाट आउने विदेशी लगानीका लागि अधिकतम सीमा हटाएकोलगायत विवरण उल्लेख गरेका छन् । वाणिज्यतर्फ आयात इजाजत पूर्णरूपमा अनलाइन प्रणालीबाट जारी हुने व्यवस्था गरेको, वाणिज्य विभागबाट हुने हरेक अनुगमनमा लिखित पृष्ठपोषण कार्डको प्रयोग गर्न सुरुवात गरेकोलगायत कार्य विवरण उनले उल्लेख गरेका छन् ।


