Banijya News

एक अर्बमा चिनियाँ कम्पनीले पायो नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का

1
1.1K Shares

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाउने भएको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सोमबार सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई दिने गरी आशयपत्र जारी गरेको हो । करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का दिने गरी आशयपत्र जारी गर्दै विभागले दाबी विरोधका लागि एक साताको समय दिएको छ । त्यसपछि परियोजनाले १५ दिनको समय दिएर युक्सिन–एआरटीलाई ठेक्का सम्झौताका लागि बोलाउनेछ । कुनै अवरोध नआएमा अबको २२ दिनमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ । ठेक्का रकमअनुसार परियोजना सञ्चालमा वार्षिक औसत २२ करोड खर्च हुनेछ । विभागले वार्षिक ३५ करोड लागत लाग्ने अनुमान गरेको थियो ।

परियोजनाका निर्देशक सौजन्य नेपालले युक्सिन–एआरटीलाई सुरुङमार्ग सञ्चालन ठेक्का दिने गरी आशयपत्र जारी भएको बताए । नेपालमा सुरुङमार्ग सञ्चालन गरेको अनुभव कुनै पनि निकाय तथा कम्पनीसँग छैन । सडक विभागले पनि जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनसँग निर्माणसम्बन्धी मात्रै काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सोही कारण विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि विदेशी सेवाप्रदायक कम्पनी ल्याउने गरी १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । त्यसमा विदेशी कम्पनीले नेपाली कम्पनीलाई संयुक्त उपक्रममा अनिवार्य राख्नुपर्ने सर्त थियो । सर्तअनुसार विभिन्न १० कम्पनीले प्रस्ताव पेस गरेको प्राविधिक रूपमा सात कम्पनी उत्तीर्ण भएका थिए ।

सडक विभागले आगामी वैशाखको अन्तिम साता सुरुङमार्गलाई ट्रायल (परीक्षण)का रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । साउन पहिलो साताभित्र सुरुङमार्गलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । वैशाख पहिलो साता सर्भिस प्रोभाइडर कम्पनी युक्सिन–एआरटीसँग ठेक्का सम्झौता गर्ने विभागको तयारी छ । सम्झौता गरेको १५ दिनभित्र उक्त कम्पनी फिल्डमा परिचालन भइसक्नुपर्नेछ । सम्झौता गरेको तीन महिनामा सुरुङमार्गलाई सञ्चालनमा ल्याउनुपर्नेछ ।

नयाँ ठेकेदार फिल्डमा परिचालन हुनका लागि हाल परियोजना निर्माण गरिरहेको जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सरकारलाई परियोजना हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि सरकारले सर्भिस प्रोभाइडर कम्पनीलाई परियोजना हस्तान्तरण गर्नेछ । जापानिज कम्पनीलाई दिइएको ठेक्काको म्याद १२ वैशाखसम्मको छ । हाल परियोजनाको निर्माण सक्किसकेको छ । अब टोल बुथको अन्तिम चरणको मात्रै काम गर्न बाँकी छ । त्यसो हुँदा १२ वैशाखअघि नै जापानिज कम्पनीले परियोजना हस्तान्तरण गर्नेछ । त्यसलगत्तै सर्भिस प्रोभाइडर कम्पनी फिल्डमा परिचालन हुनेछ । र, वैशाखमै परीक्षणका रूपमा सुरुङमार्ग सञ्चालन गराउने तयारी छ । ठेक्काप्राप्त कम्पनीले आवश्यक तयारी गरेर ठेक्का सम्झौता गरेको तीन महिनामा सुरुङमार्ग सञ्चालन गर्नुपर्छ । तीन महिनामा परियोजा हस्तान्तरण, कर्मचारी व्यवस्थापन, सफ्टवेयर जडान, टेलिफोन जडान, तालिमलगायतका तयारी गर्नुपर्नेछ । परियोजना प्रमुख नेपालले ढिलोमा पनि साउन पहिलो सातामा सुरुङमार्ग सञ्चालनमा आउने बताए ।

1

Scroll to Top