अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको भारी वृद्धिसँगै नेपालका निर्माणाधीन अर्बौंका पूर्वाधार आयोजनाहरू संकटमा परेका छन्। इन्धन महँगिएसँगै ढुवानी लागत बढ्दा सिमेन्ट, फलामे डण्डी, बिटुमिन तथा प्लास्टिकजन्य निर्माण सामग्रीको मूल्य एकैपटक उकालो लागेपछि अर्बौं रुपैयाँका आयोजना अन्योलतर्फ धकेलिएका हुन् । निर्माण व्यवसायीहरूका अनुसार इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा ढुवानी खर्च बढाउने भएकाले यसको असर हरेक निर्माण सामग्रीमा परेको छ । विशेष गरी सिमेन्ट, फलामको डण्डी, बिटुमिन र प्लास्टिकजन्य सामग्रीको मूल्य एकाएक बढेपछि निर्माण व्यवसायीहरू काम अगाडि बढाउन नसक्ने अवस्थामा पुगेका छन्। बजारमा अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार केही दिनअघिसम्म प्रतिबोरा ६८० रुपैयाँमा पाइने ओपिसी सिमेन्टको मूल्य ७५० पुगेको छ भने ७८० रुपैयाँ पर्ने पिपिसी सिमेन्टको मूल्य ८५० रुपैयाँ पुगेको छ।
त्यसैगरी, फलामको डण्डीमा प्रतिकिलो ५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ। सडक निर्माणका लागि मेरुदण्ड मानिने बिटुमिन (अलकत्रा) को मूल्यमा भएको वृद्धि झनै भयावह छ। भारतीय आयल कर्पोरेसनले मूल्य बढाएको बहानामा नेपालमा बिटुमिनको मूल्य प्रतिब्यारेल १४ हजार रुपैयाँसम्मले बढेको छ। व्यवसायीहरूका अनुसार बजारमा केही उद्योगी र आपूर्तिकर्ताले उत्पादन घटाउने तथा सीमित ग्राहकलाई मात्र सामग्री उपलब्ध गराउने प्रवृत्ति देखिएको छ, जसले कृत्रिम अभाव सिर्जना गरिरहेको छ । उनीहरूले बजारमा देखिएको यस्तो अस्वाभाविक अवस्थाको अनुगमन र नियन्त्रणका लागि सरकारको हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
सडक निर्माणका लागि अत्यावश्यक मानिने बिटुमिनको मूल्य वृद्धि अझ तीव्र देखिएको छ । पछिल्लो समय बिटुमिनको मूल्य प्रतिब्यारेल करिब १४ हजार रुपैयाँसम्मले बढेको व्यवसायीहरूको भनाइ छ । भारतीय आपूर्तिकर्ताबाटै मूल्य बढेकाले यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो । केही साताअघि केजीमा करिब २६ रुपैयाँ रहेको बिटुमिन अहिले उल्लेख्य रूपमा बढेर बजारमा अभावकै अवस्था देखिन थालेको छ ।
यसैबीच, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा निर्माण कार्य प्रभावित हुने संकेत देखिएको छ । आयोजनाका अनुसार बिटुमिन, सिमेन्ट, डण्डी र इन्धनको मूल्यमा आएको अप्रत्याशित वृद्धिले ठेक्का सम्झौतामा आधारित लागत संरचना नै असन्तुलित बनाएको छ । हालसम्म काम पूर्ण रूपमा नरोकिए पनि बढ्दो लागतले ठेकेदार कम्पनीहरू आर्थिक जोखिममा परेको जनाइएको छ ।
आयोजनाका सूचना अधिकारी विकास खनालका अनुसार ठेक्का सम्झौता गर्दा तय गरिएको दररेटले हालको असामान्य मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने अवस्था सिर्जना भएको छ । यद्यपि, निर्माण व्यवसायीहरूले हालसम्म काम निरन्तर राख्दै आएका छन् र आगामी दिनमा भएको घाटाको मूल्यांकन गरी क्षतिपूर्तिको दाबी गर्ने तयारीमा छन् । चैत र वैशाख सडक निर्माणका लागि सबैभन्दा उपयुक्त समय मानिने भए पनि अहिले इन्धन अभाव र सामग्रीको मूल्यवृद्धिका कारण कामको गति सुस्त हुन सक्ने देखिएको छ । मौज्दात सामग्री सकिँदै जाँदा महँगो मूल्यमा खरिद गरेर काम अघि बढाउन व्यवसायीहरू अनिच्छुक देखिएका छन् । डिजेलको अभाव र बिटुमिनको चर्को मूल्यका कारण निर्माण कार्य थप प्रभावित हुने संकेत देखिएको छ ।
यो प्रतिकूलताको प्रत्यक्ष असर नारायणघाट–बुटवल सडक खण्ड जस्ता ठूला आयोजनामा देखिएको छ। आयोजनाका सूचना अधिकारी विकास खनालका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्यमा आएको भारी उतारचढावले निर्माण व्यवसायीहरू ठूलो आर्थिक जोखिममा परेका छन्। नेपाल राष्ट्र बैंकको इन्डेक्स र ४९ दिन अगाडिको दररेटका आधारमा भुक्तानी हुने विद्यमान ठेक्का सम्झौताका शर्तहरूले यो ‘अस्वभाविक’ मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने देखिएको छ। चैत र वैशाख महिना सडक निर्माणका लागि सबैभन्दा उपयुक्त मौसम भए पनि सामग्री अभाव र महँगीका कारण निर्माणको गति सुस्त छ।


