नेपालको वैदेशिक व्यापारलाई सहज, प्रतिस्पर्धी र कम खर्चिलो बनाउने उद्देश्यले भारतका थप दुई ठूला समुद्री बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणका क्रममा नेपालले गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाहमा पहुँच पाउने समझदारी गरेको हो।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि सार्वजनिक संयुक्त वक्तव्यमा उक्त विषय समेटिएको छ। यससँगै नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका चारवटा समुद्री बन्दरगाह प्रयोग गर्न सक्ने सम्भावना खुलेको छ। यसअघि नेपालले मुख्य रूपमा कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको थियो। नेपालले यसअघि भारतको निजी क्षेत्रबाट सञ्चालित अडानी समूहका धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आएको थियो। तर यसपटक भारतले सरकारी व्यवस्थापनमा रहेका कान्डला र पारादीप बन्दरगाह उपलब्ध गराउने सहमति गरेको छ।
पश्चिमी समुद्री मार्गमा नेपालको पहुँच
भारतको गुजरातस्थित कान्डला बन्दरगाह अरब सागरको तटीय क्षेत्रमा अवस्थित छ। यो भारतका प्रमुख सरकारी बन्दरगाहमध्ये एक हो। पेट्रोलियम पदार्थ, खाने तेल, रासायनिक मल, अन्न र कोइलाजस्ता वस्तुको ढुवानीमा यसको महत्वपूर्ण भूमिका छ। पछिल्लो समय यहाँ कन्टेनर कारोबारसमेत विस्तार हुँदै गएको छ।
त्यस्तै, ओडिशास्थित पारादीप बन्दरगाह बंगालको खाडीमा रहेको भारतको ठूलो सरकारी बन्दरगाह हो। गहिरो समुद्री क्षेत्र भएकाले ठूला पानीजहाज सञ्चालन गर्न सकिने यसको विशेषता छ। कोइला, फलाम, कच्चा तेल, मल तथा औद्योगिक कच्चापदार्थको आयात–निर्यातका लागि यो महत्वपूर्ण मानिन्छ। पारादीप बन्दरगाहमा आवश्यक पूर्वाधार तयार भएपछि मात्रै नेपालले पहुँच पाउनेछ। कान्डलाको हकमा भने नयाँ पारवहन मार्ग उपलब्ध गराउने सहमति भएको छ।
किन आवश्यक छ वैकल्पिक बन्दरगाह ?
नेपालले लामो समयदेखि कोलकाता र हल्दिया बन्दरगाहमा निर्भर भएर तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ। यी बन्दरगाहमा पानीको गहिराइ कम र भीडभाड बढी हुने भएकाले ठूला मालवाहक जहाज सहजै आउन सक्दैनन्। त्यसकारण सिंगापुर र कोलम्बोजस्ता बन्दरगाहमा सामान सारेर साना जहाजमार्फत ल्याउनुपर्ने बाध्यता छ। यस प्रक्रियाले ढुवानी समय र खर्च बढाउनुका साथै कन्टेनर लामो समय अड्किँदा डेमरेज र डिटेन्सन शुल्कसमेत तिर्नुपर्ने अवस्था सिर्जना गरेको छ। नयाँ बन्दरगाहको विकल्पले यस्तो निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ बन्दरगाह उपलब्ध हुनु सकारात्मक भए पनि सबै वस्तुको व्यापारमा तत्काल लागत घट्ने निश्चित छैन। कान्डला नेपालबाट निकै टाढा पर्ने भएकाले सडक तथा रेलमार्गको ढुवानी खर्च महत्वपूर्ण हुनेछ। पारादीप पनि वीरगञ्जबाट कोलकाताभन्दा टाढा छ। यद्यपि ठूला जहाजबाट सिधै सामान ल्याउन सकिने सुविधाले समुद्री ढुवानीको समय र खर्च घटाउन सक्छ। नेपालको निजी क्षेत्रले सरकारी बन्दरगाहमा पहुँच पाउनुलाई सकारात्मक उपलब्धि मानेको छ। तर कन्टेनर व्यवस्थापन, रेल्वे सेवा, भन्सार प्रक्रिया र बन्दरगाह शुल्क सहज हुनुपर्ने व्यवसायीहरूको धारणा छ।
सीमा पूर्वाधार विस्तारमा पनि सहमति
भारत भ्रमणका क्रममा बन्दरगाहबाहेक सीमा व्यापार पूर्वाधार विस्तारमा पनि सहकार्य अघि बढाउने सहमति भएको छ। दुवै प्रधानमन्त्रीले भारतको बनबासामा निर्माण हुने एकीकृत जाँच चौकी (आईसीपी) को संयुक्त शिलान्यास गरेका छन्। नेपालतर्फ दोधारा–चाँदनी र भैरहवा–सुनौलीमा निर्माणाधीन आईसीपीको प्रगतिलाई पनि स्वागत गरिएको छ। वीरगञ्ज, विराटनगर र नेपालगञ्जमा आईसीपी सञ्चालनमा आइसकेका छन्। नयाँ संरचना निर्माण भएपछि भन्सार, अध्यागमन, गोदाम, क्वारेन्टिन र मालवाहक सवारी व्यवस्थापन एउटै स्थानबाट गर्न सहज हुनेछ।
यद्यपि नयाँ बन्दरगाहको वास्तविक लाभ लिन नेपालले पारवहन सन्धिको प्रोटोकल संशोधन, नियमित रेल सेवा र इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीको व्यवस्था गर्नुपर्नेछ। विगतमा सहमति भएर पनि कार्यान्वयन हुन नसकेका अनुभवलाई ध्यानमा राख्दै यसपटक प्रक्रिया छिटो अघि बढाउनु आवश्यक देखिन्छ।


