नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा रहेका विद्यमान समस्या समाधान र व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई ७ बुँदे सुझाव पत्र बुझाएको छ। वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी र मर्यादित बनाउनुपर्ने माग गर्दै संघले कामदारको लागत निर्धारणदेखि नीतिगत सुधारसम्मका विषयहरूलाई आफ्नो सुझावमा समेटेको छ। व्यवसायीहरूले विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको देशगत लागत निर्धारण गरी वित्तीय पारदर्शिता कायम गर्न मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
संघले बुझाएको सुझावमा प्रत्येक श्रम गन्तव्य मुलुकका लागि लाग्ने अधिकतम लागत तत्काल निर्धारण गरी कार्यान्वयनमा ल्याउन माग गरिएको छ। यस्तै, मागपत्र प्रमाणीकरणको प्रक्रियामा रहेका जटिलताहरू हटाउन र वैदेशिक रोजगार ऐनको मर्मअनुसार श्रम सहचारीहरूको प्रभावकारी व्यवस्थापन गर्नसमेत सुझाव दिइएको छ। व्यवसायीहरूले म्यानपावर कम्पनीहरूले राखेको धरौटीको ब्याज सम्बन्धित कम्पनीकै खातामा आउने व्यवस्था गर्न र अन्य निजी व्यवसाय सरह ब्याज प्राप्त गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिएका छन्।
प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा श्रमिकहरूमाथि थपिएको आर्थिक भार हटाउनुपर्ने विषयलाई पनि संघले जोडदार रूपमा उठाएको छ। ‘जेनजी’ आन्दोलनपछि युएईले प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा प्रति श्रमिक १४ हजार ७०० रुपैयाँ लिने गरेको उल्लेख गर्दै यसलाई खारेज गर्न माग गरिएको छ। त्यस्तै, साउदी दूतावासमा भिसा स्ट्याम्पिङ प्रक्रियामा रहेको पहुँचको समस्यालाई व्यवस्थापन गर्न र श्रमिकहरूको प्रक्रियालाई सहज बनाउन मन्त्री साहलाई आग्रह गरिएको छ। यसैबीच, वैदेशिक रोजगार विभागले हालै गरेको एउटा निर्णयप्रति व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। विभागले चैत २९ गतेदेखि विमानस्थलमा श्रमिकले अनिवार्य रूपमा हवाई टिकट र सेवा शुल्कको रसिद देखाउनुपर्ने व्यवस्था गरेको छ।


