Banijya News

निकासी पैठारी संघको ४५औँ साधारणसभा सम्पन्न, नीतिगत सुधार र निजी क्षेत्र–सरकार सहकार्यमा जोड

1
1.1K Shares

नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ। आयात–निर्यात व्यवसायीहरूको प्रतिनिधि संस्था मानिने संघको साधारणसभाले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न नीतिगत प्रस्तावहरू पनि अनुमोदन गरेको छ। कार्यक्रममा निजी क्षेत्रको विकास, नीतिगत सुधार तथा व्यापार सहजीकरणका विषयमा व्यापक छलफल भएको थियो।

साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उद्यमी–व्यवसायीले सम्मानित महसुस गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक गतिविधि सुदृढ बनाउने सरकारको योजना रहेको उल्लेख गरे।

पराजुलीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि सार्वजनिक गरेका पाँच प्रमुख प्रतिबद्धता कार्यान्वयन गर्न निजी क्षेत्रको सहयोग अत्यन्त आवश्यक छ। उनले निकासी पैठारी सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै त्यसमा व्यवसायीहरूको सुझाव र सहकार्य आवश्यक रहेको बताए।

उनले राजस्व तथा शुल्क अनलाइनमार्फत तिर्ने व्यवस्था लागू भइसकेको अवस्थामा व्यवसायीले सरकारबाट पाउने रिफन्ड पनि डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा उपस्थित भन्सार विभागका उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले सरकारले व्यवसायीबाट रकम अनलाइन लिने व्यवस्था गरेपछि फिर्ता दिन पनि त्यही प्रणाली प्रयोग गर्न ढिलाइ गर्न नहुने बताए।

सांसद पराजुलीले निजी क्षेत्रका समस्या आफूले नजिकबाट बुझेकाले सरकारको भूमिका नियन्त्रण गर्नेभन्दा पनि नियमन गर्ने हुनुपर्ने धारणा राखे। उनले नीति निर्माण गर्ने मुख्य थलो संसद् भएकाले नीतिगत समस्या तथा अप्ठ्याराहरू संसदीय समितिमार्फत उठाउन व्यवसायीलाई आग्रह गरे।

उनले नेपाल अहिले वित्तीय कार्यदल (एफएटिएफ) को ग्रे–लिस्टबाट बाहिर निस्कन प्रयासरत रहेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउनुपर्ने आवश्यकता औँल्याए। यसका लागि व्यवसायीहरूले पारदर्शिता र स्पष्ट नियतका साथ काम गर्नुपर्ने उनको सुझाव थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारबीच सहकार्य बढाएर नीतिगत समस्याहरू समाधान गर्नुपर्ने बताए। उनले उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका प्रशासनिक र कानुनी अवरोध हटाउन राज्य र निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उत्पादन र निर्यात बढाउने वातावरण बनाउन राज्यले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। उनले आर्थिक गतिविधि विस्तार गर्न उद्योगमैत्री नीति र लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक परिवर्तनसँगै आर्थिक स्थायित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नीतिगत कारणले ठूलो संख्यामा व्यवसायी कालोसूचीमा परेको उल्लेख गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्नुपर्ने धारणा राखे।

संघका अध्यक्ष शिवकुमार अग्रवालले खुला सिमानाका कारण हुने अनधिकृत आयात नियन्त्रण गर्न नेपाल र भारतबीच वस्तुको मूल्य अन्तर अत्यधिक नहुने गरी कर तथा भन्सार दर समायोजन गर्नुपर्ने बताए। उनले बिना पर्याप्त अध्ययन वस्तु आयातमा प्रतिबन्ध लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने र भन्सार जाँचपासका क्रममा बढी राजस्व आउने शीर्षकमा वर्गीकरण गर्न दबाब दिने प्रवृत्ति सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

उद्घाटन सत्रमा संघका महासचिव जयन्तकुमार अग्रवालले आयात–निर्यात व्यवसायीले भोगिरहेका नीतिगत तथा प्रक्रियागत समस्याबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले व्यापार सहजीकरण, प्रशासनिक सुधार र नीति परिमार्जनका सम्भावित उपायहरू पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा आयात–निर्यात व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभाले व्यापार क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत बनाउने निष्कर्ष पनि निकालेको छ।

1

Scroll to Top