Banijya News

‘लोकल टु ग्लोबल’ अभियानका लागि शोभा ज्ञवालीको उम्मेदवारी, पर्यटन र युवा उद्यमीमा विशेष जोड

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघ (फएनसीसीआई) को आगामी निर्वाचनका लागि उद्यमी शोभा ज्ञवालीले एसोसिएट प्यानलबाट कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी छिन । वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ सम्मिलित प्यानलबाट उम्मेदवारी दिँदै ज्ञवालीले निजी क्षेत्रको सशक्तिकरण र देशको आर्थिक विकासमा महासंघको भूमिकालाई थप प्रभावकारी बनाउने संकल्प व्यक्त गरेकी छिन ।

ज्ञवालीले महासंघलाई केवल एउटा संस्थाका रूपमा मात्र नभई ‘नीति निर्माता र निजी क्षेत्रलाई जोड्ने साझा प्लेटफर्म’ का रूपमा व्याख्या गरेकी छिन। ६० वर्षको गौरवमय इतिहास बोकेको महासंघले नेपाली उत्पादनलाई स्थानीय स्तरबाट विश्वबजारसम्म (लोकल टु ग्लोबल) पुर्‍याउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको तर्क छ। दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएकी ज्ञवालीले भनिन्, ‘यदि हामी देशको अर्थतन्त्रलाई साँच्चै बलियो बनाउन चाहन्छौं भने सबै उद्योगीहरूको आवाजलाई एकीकृत गरी राज्यसँग ठोस समन्वय गर्न आवश्यक छ।’

विगत १५ वर्षदेखि युवा र महिला उद्यमीहरूको आर्थिक सशक्तिकरणमा अनवरत रूपमा सक्रिय ज्ञवालीले आफ्नो अनुभवलाई महासंघको हितमा प्रयोग गर्ने बताइन। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा ‘मेड इन नेपाल’ उत्पादनको प्रवर्द्धन गर्दै मन्त्रालयहरूसँग नीतिगत समन्वय गरेको अनुभव आफूसँग रहेको उल्लेख गरिन। उनको प्राथमिकतामा विशेष गरी साना, मझौला र युवा उद्यमीहरू परेका छन्, जसलाई स्थानीय, प्रदेश र संघीय तहका नीतिहरूमा समेटिनुपर्ने उनको माग छ।

निर्वाचित भएमा आफ्नो मुख्य प्राथमिकता पर्यटन क्षेत्रको पुनरुत्थान र विकास हुने उनले स्पष्ट पारेकी छिन । पर्यटनसँगै कृषि, हस्तकला र टेक्सटाइल जस्ता क्षेत्रहरू पनि जोडिने भएकाले यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास छ। नेपालका हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिलाई विश्वसाम’ ‘तयार उत्पादन’ (Ready Product) का रूपमा ब्रान्डिङ गर्नुपर्ने र त्यसका लागि पर्यटकमैत्री वातावरण, पूर्वाधार सुधार र सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिइन। नयाँ सरकारको पहलकदमी सकारात्मक देखिएको भन्दै ज्ञवालीले नीतिगत स्पष्टता र प्रोत्साहन मार्फत लगानीमैत्री वातावरण बनाउन आफू सक्रिय रहने प्रतिबद्धता समेत जनाएकी छिन ।

1

Scroll to Top