Banijya News

अम्बे कोशी सहकारीका साना बचतकर्तालाई राहत: बचत फिर्ता प्रक्रिया सुरु

1
1.1K Shares

इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताहरूले लामो समयको पर्खाइपछि आफ्नो बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकारले २०८१ पुस २३ गते यस सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेपछि गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संस्थाको सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रियालाई तीव्रता दिएसँगै यो सम्भव भएको हो।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार, हाललाई २० हजार रुपैयाँभन्दा कम बचत भएका २८७ जना साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखी उनीहरूको कुल २८ लाख ५७ हजार रुपैयाँ सिधै बैंक खातामा पठाइएको छ। समितिले जिम्मेवारी सम्हालेपछि हालसम्म सहकारीले बजारमा लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरिसकेको छ, जसले गर्दा पहिलो चरणको फिर्ता प्रक्रिया सहज भएको हो।

यद्यपि, सहकारीको समग्र वित्तीय अवस्था अझै पनि चुनौतीपूर्ण देखिन्छ। संस्थाले बजारबाट कुल ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी ऋण असुल गर्न बाँकी छ भने बचत फिर्ताका लागि समितिमा २४ करोड ८८ लाख रुपैयाँको मागदाबी निवेदन परेको छ। समिति सदस्य जीवन काफ्लेका अनुसार, २० हजार मुनिका बचतकर्ताको भुक्तानी सकिएपछि अब १ लाख रुपैयाँसम्म बचत भएका सदस्यहरूको रकम फिर्ता गर्ने तयारी भइरहेको छ।

ऋणीहरूबाट नगद संकलन गर्ने कार्य जारी रहेको र यदि संकलित रकमले नपुगेको खण्डमा सहकारी तथा सञ्चालकहरूको नाममा रहेको सम्पत्ति लिलाम गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने प्रतिबद्धता समितिले जनाएको छ। यस कदमलाई कोशी प्रदेश सरकारले एक ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको सक्रिय पहलमा यसरी समस्याग्रस्त सहकारीबाट बचत फिर्ता गराउनु नेपालमै पहिलो उदाहरणीय कार्य भएको दाबी गरेका छन ।

सरकारले साना बचतकर्तालाई राहत दिँदै क्रमशः ठूला बचतकर्ताको समस्या समाधान गर्ने र सहकारी क्षेत्रमा हराउँदै गएको विश्वासलाई पुनः स्थापित गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा ऋण असुली प्रक्रियालाई अझ कडाइका साथ अघि बढाउँदै सबै पीडित सदस्यहरूलाई न्याय दिलाउने योजनामा प्रदेश सरकार र व्यवस्थापन समिति लागिपरेका छन्।

1

Scroll to Top