नेपालका मध्य-पहाडी र तराईका भू-भागमा अहिले एउटा यस्तो अदृश्य युद्ध चलिरहेको छ, जसको प्रमुख पात्र बाँदर र पीडित पक्ष निरिह किसान बनेका छन्। केही दशक अघिसम्म जङ्गलमा मात्र सीमित रहने बाँदरहरू अहिले मानिसको भान्छा र सुत्ने स्थानसम्म पुग्न थालेका छन्। यो समस्या केवल एउटा वन्यजन्तुको उपद्रो मात्र नभएर नेपालको राष्ट्रिय खाद्य सुरक्षा, ग्रामीण जनसङ्ख्याको पलायन र जैविक विविधताको सन्तुलन बिग्रिएको डरलाग्दो सङ्केत हो ।
सन् २०२६ को सुरुवातसँगै सरकारले बाँदरलाई कृषि हानिकारक वन्यजन्तुु घोषणा गरे तापनि, यसको समाधानका लागि गरिनुपर्ने आधारभूत अनुसन्धान र रणनीतिक योजनाको अभाव अझै अपूर्ण देखिएको छ । बाँदरको यो फैलावट र व्यवहारमा आएको आक्रामकताको मुख्य कारण प्राकृतिक स्रोतको विनाश र मानव-निर्मित पारिस्थितिकीय असन्तुलन नै हो ।
बाँदरको भौगोलिक फैलावटलाई हेर्ने हो भने, नेपालमा पाइने रातो बाँदर, असमिया रातो बाँदर र लंगुरमध्ये रातो बाँदर सबैभन्दा बढी समस्याग्रस्त देखिएको छ। पहिले काफल, लप्सी, जामुन र ऐँसेलु जस्ता जङ्गली फलफूल खाएर रमाउने यी प्राणीहरू अहिले मकै, गहुँ, सुन्तला र आलु खेतीका लागि प्रमुख बाधक बनेका छन्। यसको मुख्य कारण हाम्रा सामुदायिक वनहरूको स्वरूपमा आएको परिवर्तन हो ।
वन उपभोक्ता समितिहरूले काठ र दाउराका लागि सल्लो, उत्तिस र मसला जस्ता रूखहरूलाई प्राथमिकता दिए, जसले बाँदरलाई न त खाना दिन्छन् न त उचित बासस्थान नै दिन्छ । जङ्गलमा खानेकुराको अभाव भएपछि बाँदरहरू समूहबद्ध रूपमा खेतबारीमा पस्न थालेका हुन् । अर्कोतर्फ, सडक किनारा र धार्मिक स्थलहरूमा मानिसले दिने बिस्कुट, चाउचाउ र अन्य प्रशोधित खानेकुराले यिनीहरूको प्रजनन दर र स्वभाव दुवैमा परिवर्तन ल्याएको छ। यस्ता खानेकुराले गर्दा बाँदरमा ‘हाइपर-एक्टिभिटी’ बढेको र मानिसप्रति डर हराउँदै गएको वैज्ञानिकहरूको दाबि छ ।
यस समस्याको मुल्याङकन् गर्दा, बाँदरको सङ्ख्या वृद्धि हुनुमा जङ्गलमा प्राकृतिक शिकारीहरूको अभाव हुनु एउटा प्रमुख कारण हो । प्रकृतिमा चितुवा, बाघ र ठूला गिद्धहरूले बाँदरको सङ्ख्यालाई नियन्त्रणमा राख्ने काम गर्थे, तर यी शिकारी जनावरहरूको सङ्ख्या घट्दै जाँदा बाँदरको जनसङ्ख्या अनियन्त्रित गतिमा बढ्न पुग्यो । योसँगै, ग्रामीण भेगबाट भइरहेको तीव्र बसाइँसराइले खेतीयोग्य जमिन झाडीमा परिणत हुनुले बाँदरलाई लुक्न झनै सजिलो बनाइदिएको छ।
मानिसको उपस्थिति कम भएका गाउँहरूमा बाँदरले सजिलै आफ्नो साम्राज्य खडा गरेका छन्, जसका कारण बाँकी रहेका थोरै किसानहरू पनि खेती छोडेर सहर पस्न बाध्य छन् । यो एक प्रकारको दुष्चक्र हो, जहाँ बाँदरकै कारण मानिस पलायन हुन्छन् र मानिस पलायन भएकै कारण बाँदरको रजगज अझै तिव्र भएर जान्छ । बाँदरलाई उत्पादनशील क्षेत्रमा जोड्न सकिन्छ कि भन्ने विषयमा नेपालमा अहिले ठूलो बहस छ । केही विज्ञहरूले बाँदरलाई चिकित्सा अनुसन्धानका लागि विदेश निर्यात गर्ने प्रस्ताव गरेका छन्, जसबाट राज्यले करोडौँ डलर आम्दानी गर्न सक्छ। विश्व बजारमा विशेष गरी खोप र औषधिको परीक्षणका लागि बाँदरको माग अत्यधिक छ। तर, यसमा पशु अधिकारकर्मीहरूको कडा विरोध र अन्तर्राष्ट्रिय सन्धिहरूका अवरोध छन् ।
अर्को विकल्प भनेको बाँदरलाई निश्चित क्षेत्रमा नियन्त्रण गरी ‘मन्की सफारी’ वा ‘मन्की पार्क’ जस्ता पर्यटकीय गन्तव्य बनाउनु हो । यद्यपि, नेपालको सन्दर्भमा यो व्यावहारिक रूपमा चुनौतीपूर्ण देखिएको छ। बाँदर नियन्त्रणका उपायहरू खोज्ने क्रममा पछिल्लो समय यसको मासुलाई प्रोटिनुको स्रोतका रूपमा प्रयोग गर्न सकिने र औद्योगिक प्रयोजनमा ल्याउन सकिने विषयले पनि चर्चा पाउन थालेको छ। केही दक्षिण-पूर्वी एसियाली मुलुकहरूमा बाँदरको मासुलाई खाद्य पदार्थका रूपमा लिइने गरिए तापनि नेपाल जस्तो धार्मिक र सांस्कृतिक संवेदनशीलता भएको देशमा यो विषय निकै जटिल देखिन्छ।
यद्यपि, ‘बाँदरको मासु कुकुरको आहारा वा अन्य पशुपन्छीको दानाका लागि कच्चा पदार्थ बन्न सक्छ’ भन्ने तर्कहरू केही अर्थशास्त्रीहरूले अघि सारेका छन्। तर, यसो गर्दा एकातिर वन्यजन्तु संरक्षणको विश्वव्यापी मान्यता र अर्कोतिर हिन्दु धर्ममा बाँदरलाई हनुमानुको प्रतीक मानिने धार्मिक आस्थाका बीच ठूलो द्वन्द्व सिर्जना हुने देखिन्छ । जसका कारण बाँदरको मासुको व्यावसायिक प्रयोग तत्कालका लागि प्राविधिक र नैतिक दुवै दृष्टिले चुनौतीपूर्ण छ।
यसका साथै, बाँदरको मासुबाट मानिसमा सर्ने सम्भावित सरुवा रोगहरूको जोखिमलाई पनि नजरअन्दाज गर्न मिल्दैन। वैज्ञानिक अध्ययनहरूका अनुसार, बाँदरमा पाइने भाइरस र ब्याक्टेरियाहरू मानिसमा सर्न सक्ने उच्च सम्भावना रहन्छ, जसले भविष्यमा नयाँ महामारीको रूप लिन सक्छ। त्यसैले, यसलाई केवल ‘मासु’ वा ‘आर्थिक लाभुको रूपमा मात्र नहेरी यसले निम्त्याउन सक्ने वातावरणीय र स्वास्थ्य सङ्कटको बारेमा पनि गम्भीर चिन्तन आवश्यक छ। बाँदरको मासुको प्रयोगभन्दा पनि यसलाई वैज्ञानिक तवरले व्यवस्थापन गरी इकोसिस्टममा फिर्ता पठाउनु वा यसको शरीरका अन्य अङ्गहरूलाई जैविक अनुसन्धानमा मात्र सीमित राख्नु बढी उपयुक्त हुने देखिन्छ। यी कुराहरूमा स्पष्ट कानुन नियम र विज्ञहरूको सल्लाह बिना अघि बढ्दा फाइदा भन्दा नकारात्मक असर पर्न सक्छ ।
अर्कोतर्फ, बाँदरको मलमूत्रलाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्ने बारे केही प्रारम्भिक छलफल भए तापनि त्यसको वैज्ञानिक सङ्कलन र प्रशोधन विधि अझै तय हुन सकेको छैन । यस समस्याको दीर्घकालीन सुधारका लागि केवल बाँदर धपाएर वा डराएर मात्र पुग्दैन, यसका लागि राज्यले ‘बाली विविधीकरण’ को नीति कडाइका साथ लागू गर्नुपर्छ । बाँदरले मन नपराउने तर बजारमा उच्च माग भएका बालीहरू जस्तै : बेसार, अदुवा, मेन्था, कुरिलो, कागती र टिमुरको व्यावसायिक खेतीलाई प्रोत्साहन दिनुपर्छ। किसानलाई यस्ता बालीका लागि बिउ, मल र बजारको सुनिश्चितता सरकारले गरिदिनुपर्छ । साथै, जङ्गलको भित्री भागमा बाँदरका लागि ‘खाद्य वन’ निर्माण गर्ने, जहाँ उनीहरूले वर्षैभरि फलफूल र कन्दमूल पाउन सकून्, यसले बाँदरलाई बस्ती पस्नबाट रोक्न सक्छ।
भारतका केही प्रान्तहरूमा जस्तै नेपालमा पनि बाँदरको वैज्ञानिक बन्ध्याकरण प्रविधिलाई व्यापक बनाउनु आवश्यक छ, जसले आगामी एक दशकभित्र यसको सङ्ख्यालाई प्राकृतिक रूपमा नियन्त्रण गर्नेछ। बाँदर आतङ्कको समाधान भनेको प्रकृतिसँगको सम्बन्धलाई पुनः सन्तुलनमा ल्याउनु हो। सरकारले क्षतिपूर्ति दिने नीतिलाई सरलीकृत गर्दै किसानको मनोबल बढाउनुपर्छ र स्थानीय तहलाई बाँदर व्यवस्थापनका लागि विशेष अधिकार र बजेट प्रदान गर्नुपर्छ।
यदि हामीले समयमै वैज्ञानिक व्यवस्थापन, बाली परिवर्तन र जैविक विविधताको संरक्षणमा ध्यान दिएनौँ भने, नेपालका पहाडी गाउँहरू केवल बाँदरका बासस्थान मात्रै रहनेछन् र हाम्रो कृषि अर्थतन्त्र संकटमा रहनेछ । वैज्ञानिक समाधान र स्थानीय ज्ञानको फ्युजन नै यस गम्भीर समस्याको एक मात्र निकास हो ।


