Banijya News

सुरक्षित र छिटो बैंकिङ सेवामा एनएमबि बैंकको विश्वव्यापी मान्यता

1
1.0K Shares

जर्मनीको प्रतिष्ठित कमर्ज बैंक एजीले अन्तर्राष्ट्रिय भुक्तानी सेवामा उत्कृष्ट प्रदर्शन गरेबापत एनएमबि बैंकलाई ‘एसटीपी अवार्ड २०२५’ बाट सम्मानित गरेको छ। व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उच्च गुणस्तर, कार्यगत दक्षता र पूर्ण स्वचालित प्रक्रिया अपनाएको आधारमा बैंकले यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो। मानवीय हस्तक्षेपबिना छिटो र त्रुटिरहित ढंगले वैदेशिक कारोबार सम्पन्न गर्ने सीमित बैंकहरूले मात्र पाउने यो अवार्डले एनएमबिको प्राविधिक सबलता र कार्यगत अनुशासनलाई प्रमाणित गरेको छ।

अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा ‘स्ट्रेट थ्रु प्रोसेसिङ’ (STP) क्षमतालाई बैंकको प्राविधिक परिपक्वताको सूचक मानिन्छ। एनएमबि बैंकले विदेशी मुद्राको कारोबार र रेमिट्यान्स व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकको समय बचत र कारोबारको गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको छ। यस अवार्डले बैंकको आन्तरिक प्रणाली विश्वका ठूला वित्तीय संस्थाहरूसँग सहजै जोडिन सक्ने र अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गर्न सक्षम रहेको तथ्यलाई पुनः पुष्टि गरेको छ।

अवार्ड प्राप्तिपछि खुसी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवा सरल र सहज बनाउने निरन्तर प्रयासको प्रतिफलस्वरूप यो सफलता मिलेको बताए । उनले बैंकिङ प्रणालीलाई अझै पारदर्शी र प्रभावकारी बनाउँदै आगामी दिनमा पनि उच्च मापदण्डसहितको सुरक्षित सेवा प्रदान गर्न बैंक सदैव प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरे । यो सम्मानले कर्मचारीहरूमा थप उत्साह जगाएको र बैंकलाई अझै उचाइमा पुर्‍याउन प्रेरणा मिलेको उनको भनाइ थियो।

यस उपलब्धिले एनएमबि बैंकलाई विश्वव्यापी वित्तीय पहुँच, वैदेशिक व्यापार र लगानीका लागि एक विश्वसनीय साझेदारको रूपमा थप सुदृढ बनाएको छ। विदेशी बैंकहरूबाट प्राप्त हुने यस्ता सम्मानले नेपालको बैंकिङ क्षेत्रको साख अन्तर्राष्ट्रिय बजारमा बढ्ने विश्वास लिइएको छ। हाल बैंकले देशभरका १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना अत्याधुनिक र प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै ग्राहकलाई उत्कृष्ट बैंकिङ अनुभव प्रदान गरिरहेको छ।

1

Scroll to Top