कोशी प्रदेशका पहाडी जिल्लामा फैलिँदै गएको किबी खेती र त्यसमा आधारित प्रशोधन उद्योग अहिले कर नीतिको दबाबका कारण गम्भीर संकटमा परेको छ। धनकुटाको महालक्ष्मी नगरपालिकामा स्थापना भएको वसन्तपुर तीनजुरे प्रा.लि. (किबी उत्पादन तथा प्रशोधन केन्द्र) ले स्वदेशी कच्चा पदार्थमा आधारित वाइन उद्योग जोगाउन सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने भन्दै अन्तःशुल्कमा ८० प्रतिशत छुटको माग अघि सारेको छ।
उद्योगले कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ र धनकुटाका किसानहरूबाट किबी खरिद गरी प्रशोधन गर्दै आएको छ। करिब एक दशकदेखि सञ्चालनमा रहेको यस उद्योगले स्थानीय किसानसँग प्रत्यक्ष सहकार्य गर्दै किबी खेती विस्तार र आयआर्जनमा योगदान पुर्याउँदै आएको भए पनि पछिल्लो समय कर नीतिका कारण यसको अस्तित्व नै संकटमा परेको उद्योगका सञ्चालकहरूको भनाइ छ।
उद्योगका अध्यक्ष दुर्गामणि पौडेलका अनुसार स्वदेशी फलफूलबाट उत्पादित वाइन र आयातीत वाइनमा समान कर दर लागु गरिनुले स्थानीय उत्पादनलाई प्रत्यक्ष मार परेको छ। उनका अनुसार २०७३/७४ को बजेटमार्फत १२ देखि १७ प्रतिशत अल्कोहलयुक्त स्वदेशी फलफूलजन्य पेय पदार्थमा ८० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था गरिएको थियो। तर, २०७५ सालमा उक्त सुविधा हटाइएपछि स्वदेशी उद्योगहरू प्रतिस्पर्धामा कमजोर बन्दै गएका छन्।
“हामीले उत्पादन गर्ने किबी वाइन पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थमा आधारित छ, तर आयातीत उत्पादनसँग समान कर तिर्नुपर्दा लागत अत्यधिक बढेको छ,” पौडेलले भने, “यसले उद्योगलाई टिक्नै नसक्ने अवस्थामा पुर्याएको छ।”
उद्योगले सार्वजनिक गरेको विवरणअनुसार १ लिटर किबी वाइन उत्पादन गर्दा मात्र अन्तःशुल्क ४६० रुपैयाँ लाग्छ। यसमा कच्चा पदार्थ, बोतल, श्रम लागत र १३ प्रतिशत भ्याट जोड्दा उत्पादन लागत ९२१ रुपैयाँ पुग्छ। ढुवानी खर्च र बैंक ब्याजसमेत जोड्दा लागत अझै बढ्ने हुँदा बजारमा प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गर्न कठिन भएको उद्योगको दाबी छ।
उद्योगले प्रस्ताव गरेको समाधान भने स्पष्ट छ—अन्तःशुल्कमा ८० प्रतिशत छुट दिई प्रतिलिटर कर १२० रुपैयाँमा झार्नुपर्ने। यसो गर्न सकेमा उत्पादन लागत घट्ने, बजारमा प्रतिस्पर्धा गर्न सकिने र उद्योग दीर्घकालीन रूपमा टिक्न सक्ने विश्वास उद्योग पक्षको छ।
किबी खेतीमा संलग्न किसानहरू पनि यस अवस्थाबाट प्रत्यक्ष प्रभावित भएका छन्। उद्योगले हाल ६५ घरपरिवार किसानसँग सहकार्य गर्दै करिब ४०० रोपनी जमिनमा किबी खेती प्रवर्द्धन गरेको छ भने उद्योगको आफ्नै १०० रोपनी जमिनमा पनि खेती गरिएको छ। यसरी कुल ५०० रोपनी क्षेत्रफलमा किबी उत्पादन भइरहेको छ।
किबी खेती दीर्घकालीन लगानी मानिन्छ। बिरुवा रोपेको करिब पाँच वर्षपछि मात्र उत्पादन सुरु हुने र त्यसपछि ५० वर्षसम्म फल दिने भएकाले किसानहरूले ठूलो लगानी गरेका छन्। तर, प्रशोधन उद्योग कमजोर हुँदा उत्पादनको उचित बजार र मूल्य नपाउने जोखिम बढेको किसानहरूको गुनासो छ।
“यदि उद्योग नै बन्द हुने अवस्था आयो भने हामीले गरेको लगानी डुब्नेछ,” धनकुटाका एक किसानले भने, “हामीले वैकल्पिक बजार पाउन पनि सहज छैन।”
उद्योगका अनुसार सरकारले प्रशोधन उद्योगलाई प्रोत्साहन नगरेमा स्थानीय उत्पादनको मूल्य शृंखला नै कमजोर बन्नेछ। यसले किसानलाई मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्रलाई असर गर्ने देखिन्छ।
स्थानीय स्तरमा रोजगारी सिर्जना, बाँझो जमिनको उपयोग र आयात प्रतिस्थापनमा पनि यस्तो उद्योगको महत्वपूर्ण भूमिका हुने उद्योग पक्षको तर्क छ। “स्वदेशी फलफूलमा आधारित उद्योगलाई संरक्षण गर्न सके देश आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छ,” अध्यक्ष पौडेलले बताए, “तर अहिलेको कर संरचनाले उल्टै आयातलाई प्रोत्साहन गरिरहेको छ।”
उद्योगले ‘तिन्धुरे बगान’ ब्रान्डअन्तर्गत किबी वाइन बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको जनाएको छ। तर, कर नीतिमा सुधार नभए उत्पादन बजारमा टिकाउन चुनौतीपूर्ण हुने चिन्ता व्यक्त गरिएको छ।
सरकारले आगामी बजेटमार्फत कर नीतिमा पुनर्विचार नगरे स्वदेशी किबी वाइन उद्योग मात्र होइन, यससँग जोडिएका हजारौँ किसानको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ। त्यसैले उद्योगी र किसान दुवैले कर छुटमार्फत राहत दिन सरकारसँग जोडदार माग गरेका छन्।


