Banijya News

दुई वर्षमा ३९ अर्बभन्दा बढीका झुत्रा नोट नष्ट

1
1.0K Shares

नेपाली बैंकनोट झुत्रिने र चलनचल्तीका लागि अयोग्य हुने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै ५ रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका कुल ३९ अर्ब ६१ करोड १७ लाख ५ हजार ९४० रुपैयाँ बराबरका नोट नष्ट गरिएको छ । यसले बैंकनोटको उचित संरक्षण र प्रयोगमा अझै चुनौती रहेको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा नष्ट गरिएका नोटको संख्यामा कमी आए पनि कुल मौद्रिक मूल्य भने बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ७ करोड ४४ लाख ४३ हजार ६१५ रुपैयाँ बराबरका नोट चलनचल्तीका लागि अयोग्य ठहरिएका थिए । तीमध्ये ५ देखि १ हजार रुपैयाँ दरका कुल १६ करोड २ लाख ६२ हजार ३२४ थान नोट धुल्याएर नष्ट गरिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

मूल्यका आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नष्ट गरिएका नोटको रकम २.७१ प्रतिशत अर्थात् ५२ करोड ९१ लाख ८१ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा १९ अर्ब ५४ करोड १२ लाख ६२ हजार ३२५ रुपैयाँ बराबरका नोट नष्ट गरिएको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट सट्टाभर्ना वा जम्मा हुन आएका झुत्रा, मैला तथा च्यातिएका नोटलाई चलनचल्तीबाट हटाएर धुल्याउने गर्छ । यसरी संकलन गरिएका अयोग्य नोटलाई नष्ट गरी बजारमा पुनः प्रयोग हुन नदिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार स्थापना कालदेखि २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन गरिएका कुल ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका अयोग्य नोट धुल्याउने काम सम्पन्न भइसकेको छ ।

५०० र १००० दरका नोट सबैभन्दा महँगा

गत आर्थिक वर्ष मूल्यका आधारमा सबैभन्दा धेरै ५०० रुपैयाँ दरका नोट नष्ट गरिएको छ । यस अवधिमा ५०० दरका १ करोड ६५ लाख २९ हजार १६२ थान नोट धुल्याइएको छ । ती नोटको कुल मूल्य ८ अर्ब २६ करोड ४५ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, १ हजार रुपैयाँ दरका ५७ लाख ४० हजार ६१५ थान नोट नष्ट गरिएको छ । यसको कुल मौद्रिक मूल्य ५ अर्ब ७४ करोड ६ लाख १५ हजार रुपैयाँ छ । पछिल्लो समय चलनचल्तीमा कम देखिने २५० रुपैयाँ दरका ३ लाख ४९ हजार ६८४ थान झुत्रा नोटसमेत राष्ट्र बैंकले नष्ट गरेको छ ।

संख्याका आधारमा भने १० रुपैयाँ दरका नोट सबैभन्दा बढी नष्ट भएका छन्। गत वर्ष १० रुपैयाँ दरका ३ करोड ५२ लाख ६६ हजार ६८८ थान नोट धुल्याइएको छ । यसको कुल मूल्य ३५ करोड २६ लाख ६६ हजार ८८० रुपैयाँ हुन्छ ।

त्यस्तै, १०० रुपैयाँ दरका २ करोड ९३ लाख ९० हजार ५१३ थान नोट नष्ट गरिएको छ । यसको मौद्रिक मूल्य २ अर्ब ९३ करोड ९० लाख ५१ हजार ३०० रुपैयाँ रहेको छ । २० रुपैयाँ दरका २ करोड ६२ लाख ६८ हजार ७८५ थान नोट नष्ट गर्दा ५२ करोड ५३ लाख ७५ हजार ७०० रुपैयाँ बराबरको रकम चलनचल्तीबाट हटेको छ ।

यसैगरी, ५० रुपैयाँ दरका २ करोड ३९ लाख २५ हजार ३७९ थान नोट नष्ट गरिएको छ । यसको कुल मूल्य १ अर्ब १९ करोड ६२ लाख ६८ हजार ९५० रुपैयाँ रहेको छ । ५ रुपैयाँ दरका २ करोड २० लाख ८३७ थान नोटसमेत धुल्याइएको छ । यी नोटको कुल मूल्य ११ करोड ४ लाख २८५ रुपैयाँ रहेको छ ।

म्यानुअल रूपमा हुन्छ नोटको छनोट

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार अयोग्य र योग्य बैंकनोट छुट्याउने काम म्यानुअल अर्थात् हस्तचालित प्रक्रियाबाट गरिन्छ । नोटको सर्टिङ गर्दा रातो स्लिप लगाइएका नोटलाई चलनचल्तीका लागि अयोग्य मानेर धुल्याउने गरिन्छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गरेका अयोग्य नोटको सट्टामा केन्द्रीय बैंकले सम्बन्धित बैंकको खातामा सोही बराबरको रकम क्रेडिट गरिदिने व्यवस्था रहेको दाहालले बताए ।

उनका अनुसार, नोटको सिरियल नम्बर जारी गर्ने समयमा निश्चित शृंखला (रेन्ज) सार्वजनिक गरिए पनि संकलन तथा धुल्याउने क्रममा प्रत्येक नोटको सिरियल नम्बर म्यानुअल रूपमा ट्र्याकिङ गर्न सम्भव हुँदैन ।

राष्ट्र बैंकले पछिल्ला केही वर्षदेखि नष्ट गरिएका नोटलाई पूर्ण रूपमा खेर जान नदिई पुनः उपयोग गर्ने प्रक्रिया पनि अघि बढाएको छ । धुल्याइएका नोटबाट ब्रिकेट बनाएर बिक्री गर्ने गरिएको दाहालले जानकारी दिए । उत्पादित ब्रिकेटलाई भण्डारण गरी बिक्री वितरण गरिँदै आएको छ ।

नोटको आयु बढाउन सफा नोट नीतिमा जोड

राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले जतनका साथ प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । यसका लागि सफा नोट नीतिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै दसैँ, तिहार र छठजस्ता पर्वमा नयाँ वा सुकिला नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ मंसिर २ गतेसम्म केन्द्रीय बैंकबाहिर अर्थात् बैंक तथा वित्तीय संस्था र सर्वसाधारणसँग कुल ९ खर्ब १ करोड ६५ लाख रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका छन् ।

नेपाली नोट विदेशमा छापिने भएकाले तिनलाई नेपाल ल्याउने, देशभर वितरण गर्ने र पुराना नोट संकलन गरी धुल्याउने प्रक्रियामा ठूलो खर्च लाग्ने गर्छ। त्यसैले नोटको उचित संरक्षण र प्रयोगले नयाँ नोट छपाइमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने देखिन्छ ।

नोटलाई जथाभावी नपट्याउने, नच्यात्ने, नलेख्ने तथा अनावश्यक रूपमा नबिगार्ने बानी विकास गर्न सके यसको प्रयोग अवधि बढाउन सकिन्छ । यसले राष्ट्रको सम्पत्तिको संरक्षण गर्नुका साथै नोट व्यवस्थापनमा हुने खर्चसमेत कम गर्न मद्दत पुर्‍याउनेछ ।

1

Scroll to Top