Banijya News

पदयात्रा मार्ग संरक्षणमा जोड दिन टान गण्डकीको आग्रह, डाटा केन्द्र स्थापनाको माग

1
1.0K Shares

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले प्रदेशका प्रसिद्ध पदमार्गहरू मासिँदै जाँदा समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । पदयात्रा पर्यटनमा देखिएका समस्या र समाधानका उपायबारे गण्डकी प्रदेशकी पर्यटनमन्त्री यशोदा रिमाललाई ज्ञापनपत्र बुझाउँदै टानले तत्काल नीति तथा संरचनागत सुधार आवश्यक रहेको जनाएको हो ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले प्रदेशमा भित्रिने पर्यटकहरूको यकिन तथ्यांक नहुँदा पर्यटनसम्बन्धी दीर्घकालीन योजना निर्माणमा गम्भीर समस्या परेको बताए । उनले पर्यटकको संख्या, प्रकृति र गतिविधि समेट्ने विश्वसनीय डाटा अभावले नीति निर्माण कमजोर बनेको उल्लेख गर्दै पर्यटन मन्त्रालयअन्तर्गत छुट्टै सूचना तथा डाटा केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

‘कति र कस्ता पर्यटक हाम्रो प्रदेशमा आउँछन् भन्ने स्पष्ट तथ्यांक नहुँदा हामी अनुमानकै भरमा योजना बनाउन बाध्य छौं,’ उनले भने, ‘यसका लागि सूचना केन्द्र अत्यन्त आवश्यक छ, जसले भविष्यका कार्यक्रमहरू प्रभावकारी बनाउन सहयोग गर्छ ।’

टानले पछिल्लो समय जथाभावी रूपमा मोटरबाटो विस्तार हुँदा अन्तर्राष्ट्रिय स्तरमै परिचित पदमार्गहरू छोटिँदै गएको र कतिपय पूर्ण रूपमा विस्थापित हुने अवस्थामा पुगेको जनाएको छ । गण्डकी प्रदेशका पदमार्गहरू विश्वभरिका पदयात्रीका लागि आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै टानले यस्ता सम्पदाको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएको हो ।

अध्यक्ष आचार्यले विकासका नाममा अनियन्त्रित सडक विस्तार रोक्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘हामी विकासविरोधी होइनौं, तर विश्वमा पहिचान बनाएका पदमार्ग जोगाउँदै वैकल्पिक मार्ग विकास गर्न जरुरी छ । बस्ती नै नभएका ठाउँमा समेत मनपरी सडक खन्ने प्रवृत्ति रोक्नुपर्छ ।’

परम्परागत मार्गहरू संकटमा पर्दै गएपछि टानले नयाँ पदमार्गको खोजी र विकासमा पनि सक्रियता देखाएको छ । टानकै पहलमा नयाँपुल–जलजला–मोहरेडाँडा हुँदै पाँच दिने नयाँ पदमार्गको खाका तयार गरिएको जानकारी दिइएको छ । साथै, सिक्लेस र ताङतिङ क्षेत्रलाई जोड्ने नयाँ सम्भावित मार्गहरू पनि पहिचान गरिएको टानले जनाएको छ ।

ज्ञापनपत्रमार्फत टानले बिना अनुमति पदयात्रा सञ्चालन गर्ने, विदेशी गाइडहरूको अनियमित गतिविधि र नियमनको अभावले पर्यटन क्षेत्र प्रभावित भइरहेको भन्दै कडाइका साथ अनुगमन गर्न माग गरेको छ । साथै, पदमार्गमा आधारभूत सुविधा, सुरक्षा व्यवस्था र सूचना केन्द्रको अभाव रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा सरकारी लगानी बढाउन आग्रह गरिएको छ ।

डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि टानले औंल्याएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पदयात्रा पर्यटनलाई विश्व बजारमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने उनीहरूको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै पर्यटनमन्त्री यशोदा रिमालले प्रदेश सरकार पर्यटन क्षेत्रको विकासका लागि सरोकारवाला निकायहरूसँग सहकार्य गर्न तयार रहेको बताइन् । उनले संघीय संरचनाअन्तर्गत प्रदेशले सबै अधिकार पूर्ण रूपमा नपाएको कारण केही नीतिगत र कार्यान्वयनका चुनौतीहरू रहेको स्वीकार गरिन् ।

‘केही अधिकार अझै संघीय सरकारमै केन्द्रित हुँदा काम गर्न अप्ठ्यारो भइरहेको छ,’ उनले भनिन्, ‘तर पनि पदयात्रा पर्यटनको संरक्षण र विकासमा प्रदेश सरकार गम्भीर छ र आवश्यक पहल अघि बढाइनेछ ।’

टानको यो पहललाई गण्डकी प्रदेशको पदयात्रा पर्यटन जोगाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

1

Scroll to Top