साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ । त्यस्तै, नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सिटि होटलको शेयरमूल्य यस दिन सर्वाधिक ६.८४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सिटि होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, साहस उर्जाको ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम साढे ८ करोड रुपैयाँभन्दा बढी भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.२४ प्रतिशत घटेको छ ।


