आज बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो ।
आज विहीबार नेप्से परिसूचक १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज विहीबार ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
यस दिन मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा कम रहेको छ । मूल्य बढेका १० शीर्ष कम्पनीहरुमध्ये ६ वटा ऋणपत्र रहेका छन् । आज बुंगल हाइड्रोको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १४.९५ प्रतिशत घटेको छ । त्यस्तै, झापा इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १७ करोड ७२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन स्थिर रहेको छ । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६८.३३ अंक घटेको छ ।


