Banijya News

बाल्यकालको जङ्क फूडले स्मरणशक्ति र सिक्ने क्षमता कमजोर बनाउँछ !

1
1.0K Shares

बाल्यकालको आहारले दिमागमा कति गहिरो प्रभाव पार्ला भन्नेबारे हालै गरिएको एक अनुसन्धानले आश्चर्यचकित तुल्याउने तथ्य खुलाएको छ ।

सो अनुसन्धानअनुसार, बाल्यकालमा अत्यधिक मात्रामा जङ्क फूड खाँदा दिमागको संरचना स्थायी रूपमा परिवर्तन हुन सक्छ । सबैभन्दा अचम्मको कुरा त वयस्क उमेरमा पूर्ण रूपमा स्वस्थकर खानपिन अपनाउँदा पनि दिमागको त्यो पूर्वक्षति पूर्ण रूपमा निको हुँदैन ।

‘नेचर कम्युनिकेसन्स’मा प्रकाशित युनिभर्सिटी कलेज कर्कको एक अध्ययन अनुसार, नियमित रूपमा बढी चिल्लो र उच्च चिनीयुक्त खाना खाने बालबालिकाहरूले आफ्नो दिमागमा स्थायी परिवर्तनहरू अनुभव गर्न सक्छन् । बाल्यकालमा पर्याप्त पोषक तत्व नभएका यस्ता खाना खाँदा भविष्यमा खाने बानी नै स्थायी रूपमा परिवर्तन हुन सक्ने पनि अध्ययनले देखाएको छ । यस्ता खानेकुराले भोक नियन्त्रण गर्ने मस्तिष्कका भागहरूलाई प्रत्यक्ष असर गर्छ ।

जङ्क फूडले हाम्रो शरीरको तौल त बढाउँछ नै, मस्तिष्कको कार्यप्रणालीलाई पनि सुस्त बनाउँछ । जङ्क फूडको अत्यधिक सेवनले व्यक्तिको स्मरणशक्ति, ध्यान केन्द्रित गर्ने क्षमता र नयाँ कुराहरू सिक्ने क्षमतालाई कमजोर बनाउने अनुसन्धानले स्पष्ट रूपमा देखाएको छ ।

अनुसन्धानकर्ताहरूले मुसामा गरेको एक अध्ययनबाट यस्तो तथ्य फेला पारेका हुन् । जुन जनावरलाई जीवनको सुरुवातमा बोसो र चिनीको मात्रा बढी भएको खाना खुवाइएको थियो, उमेर बढ्दै जाँदा उनीहरूको खाने बानीमा स्थायी परिवर्तनहरू देखिए । वैज्ञानिकहरूले यो परिवर्तनलाई ‘हाइपोथ्यालेमस’मा हुने गडबडीसँग प्रत्यक्ष रूपमा जोडेका छन् । हाइपोथ्यालेमस मस्तिष्कको यस्तो महत्‌वपूर्ण भाग हो, जसले हाम्रो भोक र ऊर्जा सन्तुलनलाई नियन्त्रण गर्दछ ।

जङ्क फूडबाट मस्तिष्कमा हुने क्षति स्थायी हुन सक्ने भए पनि वैज्ञानिकहरूले केही राहतको कुरा पनि औँल्याएका छन् । अनुसन्धानका अनुसार, केही लाभदायक आन्द्राको ब्याक्टेरिया र प्रिबायोटिक फाइबरको सेवन गरेर यी नकारात्मक प्रभावहरूलाई केही हदसम्म कम गर्न सकिन्छ । अध्ययनकी लेखिका डा. क्रिस्टिना कुएस्टा–मार्टीले हामीले जीवनको सुरुवातमा जे खान्छौँ, त्यो वास्तवमै महत्‌वपूर्ण हुने बताएकी छन् ।

1

Scroll to Top