आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् संघीय सरकारले देशभरका ११ उपमहानगरपालिकाका लागि ११ अर्ब ४८ करोड अनुदान वितरण गर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको अन्तर सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकमा उक्त बजेट विनियोजन गरिएको छ ।
केन्द्रबाट प्राप्त हुने समग्र अनुदान हेर्ने हो भने मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिका निकै अगाडि देखिएको छ । त्यस्तै, दाङको घोराही र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले पनि उल्लेख्य बजेट प्राप्त गर्न सफल भएका छन् । न्यूनतम आवश्यकता र खर्चको भारका आधारमा प्रदान गरिने समानीकरण अनुदानतर्फ दाङको घोराही उपमहानगरपालिकाले सबैभन्दा बढी ३१ करोड ५५ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी, जनकपुरधामले ३० करोड ५९ लाख, हेटौँडाले ३० करोड १३ लाख र बुटवलले २९ करोड २२ लाख रुपैयाँ पाएका छन् ।
सुनसरीका दुई उपमहानगर इटहरी र धरानले क्रमशः २८ करोड ७३ लाख र २८ करोड ७९ लाख अनुदान पाउँदा दाङको तुलसीपुरले २८ करोड ७७ लाख रुपैयाँ प्राप्त गरेको छ । कैलालीको धनगढीले २८ करोड ९ लाख र बाँकेको नेपालगञ्जले २७ करोड २८ लाख प्राप्त गरेको छ । उता, बाराको जितपुर–सिमराले २५ करोड ७६ लाख अनुदान पाउँदा बाराकै कलैया उपमहानगरले सबैभन्दा कम २५ करोड २३ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त गरेको छ ।
यसैगरी, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानमा जनकपुरधाम उपमहानगरपालिकाले सबै उपमहानगरमध्ये सबैभन्दा धेरै १२ अर्ब ५० करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । सशर्त अनुदान विशेष योजना कार्यान्वयनका लागि दिइने अनुदान हो ।
सशर्त अनुदान पाउने उपमहानगरहरुमा दोस्रोमा सुनसरीको इटहरी उपमहानगरपालिकाले ९ अर्ब ८८ करोड ८० लाख र मकवानपुरको हेटौँडाले ८ अर्ब ६६ करोड ६० लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, दाङको घोराहीले ७ अर्ब ७१ करोड र बाँकेको नेपालगञ्ज उपमहानगरले ६ अर्ब ८६ करोड २० लाख सशर्त अनुदान प्राप्त गर्न सफल भएका छन् ।
कैलालीको धनगढी र बाराको कलैयाले क्रमशः ६ अर्ब २९ करोड ८० लाख र ५ अर्ब ९६ करोड ९० लाख प्राप्त गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरले ५ अर्ब ७२ करोड ९० लाख पाउँदा सुनसरीको धरानले ५ अर्ब ६० करोड बजेट पाउृने भएको छ । सशर्त अनुदानतर्फ सबैभन्दा कम बजेट पाउनेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका रहेको छ, जसले ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ मात्र बजेट पाएको छ ।
विशेष र समपूरक अनुदानतर्फको वितरणमा नेपालगञ्ज र कलैया अगाडि देखिएका छन् । विशेष अनुदानतर्फ नेपालगञ्ज उपमहानगरपालिकाले सबैभन्दा बढी २ करोड ६९ लाख पाउँदा कलैया र हेटौँडाले समान १ करोड ६७ लाख प्राप्त गरेका छन् भने घोराहीले सबैभन्दा कम ४५ लाख मात्रै बजेट पाएको छ ।
समपूरक अनुदानतर्फ बाराको कलैया उपमहानगरपालिकाले १ करोड ८४ लाख र जनकपुरधामले १ करोड ५८ लाख रुपैयाँ प्राप्त गरेका छन् । समपूरक अनुदानमा रुपन्देहीकोे बुटवलले सबैभन्दा कम २० लाख मात्रै पाएको छ ।
तर, सुनसरीको इटहरी र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले समपूरक अनुदान शीर्षकमा कुनै पनि बजेट प्राप्त गरेका छैनन् । बाराको जितपुर–सिमराले समपूरक अनुदानतर्फ १ करोड २३ लाख पाउँदा दाङको घोराही उपमहानगरले ३० लाख रुपैयाँ बजेट पाएको छ ।
सुनसरीकै धरानले ६५ लाख समपूरक अनुदान पाउँदा दाङको तुलसीपुरले ६० लाख प्राप्त गरेको छ । त्यस्तै, बाँकेको नेपालगञ्जले ५३ लाख समपूरक अनुदान पाउँदा कैलालीको धनगढीले ४५ लाख प्राप्त गरेको छ ।


