Banijya News

बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षकको प्रदर्शन

1
1.0K Shares

संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आगामी वर्षको बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता तथा प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले विरोध जनाएका हुन् ।

लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधासम्बन्धी माग राख्दै आएका शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा सहभागी शिक्षकहरूले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका विभिन्न सहमति तथा संघीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख व्यवस्थापनसम्बन्धी प्रावधानहरू कार्यान्वयन नगरी बेवास्ता गरिएको आरोप लगाए ।

उनीहरूले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै सरकार अनुदान शिक्षकका मागप्रति उदासीन रहेको गुनासो गरेका छन् ।

समितिका अनुसार देशभर करिब ११ हजार संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले माध्यमिक तथा आधारभूत तहमा अंग्रेजी, गणित र विज्ञानजस्ता विषय अध्यापन गर्दै आएका छन् । आफूहरुले राखेको माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी शिक्षकहरूले दिएका छन् ।

यसअघि उनीहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए । समितिले सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै पेशागत सुरक्षा र सेवा–सुविधाको सुनिश्चितता गर्न माग गरेको छ ।

1

Scroll to Top