Banijya News

संगठित वित्तीय अपराधको जालोः बिचौलिया भट्टदेखि व्यावसायिक घरानासम्म परे न्यायिक कठघरामा

1
1.0K Shares

कृत्रिम र झुठा कारोबार गरी धितोपत्रसम्बन्धी कानुनविपरीतको कसुर गरेको आरोपमा ८१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपालको इतिहासमै सबैभन्दा ठुलो यो संगठित वित्तीय अपराधमा बिचौलियादेखि प्रतिष्ठित व्यावसायिक घरानाहरु एकैपटक न्यायिक कठघरामा पुगेका छन् । बिचौलिया दीपक भट्ट तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालगायत दर्जनौँ उद्योगी/व्यवसायीसहित ८१ विरुद्ध सम्पत्ति शुद्धीकरण, धितोपत्र, बिमा र बैंकिङ कसुर गरी चार मुद्दा बिहीबार जिल्ला, उच्च र विशेष अदालतमा दायर गरिएका हुन्‌ ।

यो संगठित अपराधको विरुद्धमा प्रहरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागको संयुक्त टोलीले करिब पाँच महिना निरन्तर अनुसन्धान गरेको थियो । वित्तीय अपराधको आडमा देशको राजनीतिक, प्रशासनिक र वित्तीय क्षेत्रलाई प्रभावमा पार्दै आएको समूह एकै पटकमा न्यायिक कठघरामा पुगेका छन्‌ ।

बिचौलिया भट्ट र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छासहित नेपाल उद्योग परिसंघका उपाध्यक्षत्रय राजबहादुर शाह, रोहित गुप्ता र अमित मोर मुद्दाका प्रतिवादी छन्‌ । साथै, बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणका दुई पूर्वअध्यक्ष मदन दाहाल र शरद ओझाविरुद्ध समेत मुद्दा दायर भएको छ ।

गत वर्ष भदौमा भएको जेन–जी विद्रोहपछिको परिस्थितिमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालको अग्रसरतामा संगठित वित्तीय अपराधको छानबिन अघि बढाइएको थियो । ती छानबिनलाई आंशिक टुंगो लगाउँदै मुद्दा दायर भएका छन्‌ । अनुसन्धान अधिकारीहरूका अनुसार अझै आधा दर्जन मुद्दा दायर हुने चरणमा छन्, जसको छानबिन जारी छ । अब हुने छानबिनबाट राजनीतिक–प्रशासनिक जालोसमेतको पर्दाफास हुने अनुसन्धान अधिकारीहरूले बताएका छन्‌ ।

सम्पत्ति शुद्धीकरण अभियोगमा सबैभन्दा धेरै बिगोसहित मुद्दा दर्ता भएको छ । यो अभियोगमा मात्र ३४ व्यक्ति र पाँच कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । जसमा बिचौलिया दीपक भट्टसँग मात्रै २६ अर्ब ६३ करोड बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागले तयार गरेर सरकारी वकिलमार्फत विशेष अदालतमा दायर मुद्दाको कसुरको केन्द्रमा पनि भट्ट र शंकर ग्रुप छन्‌ । भट्टसँग अग्रवाल दाजुभाइ साहिल र शुलभसमेत जोडिएर संगठित वित्तीय अपराध गरेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूको सम्पत्ति शुद्धीकरणको शृंखलाबद्ध गतिविधि ०७९ देखि सुरु भएको थियो । त्यसयता करिब दुई वर्षमै अर्बौंको वित्तीय घोषणा भएको देखिन्छ ।

विभागले सम्बद्ध कसुरका फरक–फरक गतिविधिमार्फत आर्जित सम्पत्ति र त्यसको शुद्धीकरणको शृंखला केलाएको छ । बैंकिङ कसुरबाट प्राप्त ४२ करोड १४ लाख लगेर दीपक भट्ट अध्यक्ष रहेको इन्फिनिटी होल्डिङको सेयर चुक्ता पुँजी बढाई सो रकमबाट हिमालयन रिइन्स्युरेन्सको ४५ करोडको संस्थापक सेयर खरिद गरेको भेटिन्छ ।

त्यस्तै, ग्रिन डेभलपर्स प्रालिको सेयर खरिद–बिक्रीको आवरणमा गार्डेन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको २४ करोड ८९ लाख ९४ हजार संस्थापक सेयर खरिद गरेका थिए । इन्फिनिटी होल्डिङको सिद्धार्थ बैंकमा रहेको खातालाई सम्पत्ति शुद्धीकरणको माध्यम बनाएको भेटिएको छ । त्यहाँ रहेको १९ करोड ९६ लाख सम्पत्ति शुद्धीकरणमा प्रयोग गरेको पाइएको छ । सिद्धार्थ बैंकमा दीपक भट्टको खातामा रहेको नौ करोड ११ लाख पनि सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको थियो । भट्टसहितका प्रतिवादीले बिमाको दुई अर्ब ८९ करोड दुरुपयोग गरेर आफ्नो नाममा सेयर खरिद गरेको भेटिएको छ ।

हिमालयन क्यापसर्भ लिमिटेडको ३७ करोड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दुई अर्ब ७३ करोड, हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड, एचएलआई लार्जक्याप फन्डको २५ करोडसहित कुल तीन अर्ब ७३ करोड रकम जम्मा गरेर तिनै कम्पनीको नाममा सेयर किन्न भनेर भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिको खातामा ल्याइएको थियो । ती पाँचै कम्पनीमा दीपक भट्ट र सुलभ अग्रवालको प्रभुत्व थियो । दोस्रो बजारमा सेयर खरिद गर्ने भनेर भृकुटीको खातामा ल्याइएको रकम दुरुपयोग गरिएको थियो । उक्त रकममध्ये दुई अर्ब ८९ करोड दीपक भट्टले सेयर खरिद गरी दुरुपयोग गरे भने सुलभकी श्रीमती सुभी अग्रवालले ६२ करोड र ऋषिराज मोरले २३ करोड रकम लगेर दुरुपयोग गरेका थिए ।

नेपाल रिइन्स्योरेन्सको प्रतिकित्ता ७०० को सेयरलाई १८०० पुर्‍याएर अकुत लाभ लिएको अनुसन्धानमा खुलेको छ । उनीहरूको गतिविधिका कारण दोस्रो बजारमा आमलगानीकर्ताले १० दिनमा मात्र एक अर्ब २९ करोड गुमाउनुपरेको थियो । यो वित्तीय अपराधमा नियामक निकायको समेत गम्भीर बदमासी र गैरकानुनी कार्य देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यसैगरी, दीपक भट्ट र उनीनिकट समूहले सेयर बजारमा चार अर्ब ७८ करोडको कृत्रिम कारोबार गरेको आरोपमा ८१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सो समूहले नेपाल रिइन्स्योरेन्स कम्पनीको ६५.२५ प्रतिशत सेयर केन्द्रीकृत गरेको थियो । त्यसका लागि उनीहरूले चार अर्ब ७८ करोड ८५ लाख रकम प्रयोग गरी एक करोड ४० लाख १३ हजार ३५२ कित्ता सेयर खरिद गरेका थिए ।

यो काम संगठित र योजनाबद्ध अभ्यासबाट भएको अनुसन्धानको निष्कर्ष छ । अभियोगपत्रमा भनिएको छ, ‘यसरी उक्त सेयरको मूल्य बढाउने मनसायले ठुलो मात्रामा संस्थापक र व्यक्तिगत पुँजी एकै ठाउँमा केन्द्रित गरी संगठित र योजनाबद्ध अभ्यासमार्फत नेपाल रिइन्स्योरेन्सको सेयरलाई अप्राकृतिक हस्तक्षेपबाट अस्वाभाविक बनाएको देखिन्छ ।’

आफ्ना कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाउनका लागि उनीहरूले यस्तो अपराध गरेको धितोपत्र बोर्डको छानबिन निष्कर्ष छ । बोर्डकै प्रतिवेदनका आधारमा सिआईबीले थप अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो । ८१ प्रतिवादी भए पनि यसमा प्रहरीले भट्ट, नेपाल रिइन्स्योरेन्सका पूर्वअध्यक्ष दिवाकर गोल्छा तथा हिमालयन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार श्रेष्ठलाई मात्र नियन्त्रणमा लिई बयान लिएको थियो ।

यो मुद्दामा सुलभ अग्रवालको हकमा एक अर्ब १४ करोड, भृकुटी स्टक ब्रोकिङका सन्दीप चाचन, सुधा कर्ण र राजीव ठाकुरको हकमा एक अर्ब १४ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको छ । त्यस्तै, दीपक भट्टको हकमा १२ करोड ९१ लाख, सुभी अग्रवालको हकमा १५ करोड सात लाख, ऋषिराज मोरलाई ७० करोड ६२ लाख बिगो कायम छ ।

शेखर गोल्छाले प्रत्यक्ष रूपमा सेयरको कारोबार नगरे पनि भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई ५२ करोड ५० लाख अग्रिम रूपमा दिएका थिए । गोल्छाको सो कम्पनीमा टिएमएस नभए पनि सुलभ अग्रवालको योजनामा दीपक भट्टका मानिसहरूको नाममा सेयर खरिद गर्न उनले सो रकम दिएको अभियोग छ । रोहित गुप्ताले पनि त्यसैगरी ५२ करोड ५० लाख भृकुटी स्टक ब्रोकिङलाई दिएका थिए ।

यसका साथै, शंकर ग्रुपको जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट लिएको रकम सो कम्पनीको मिलेमतोमै दुरुपयोग गरेकोमा छुट्टै मुद्दा दायर गरिएको छ । यसमा भट्टसहित शंकर समूहका शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ ।
जगदम्बा स्टिल्सलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा प्रवाह भएको ७५ करोड २६ लाख ३२ हजार १३२ रुपैयाँकर्जा प्रवाह भएकोमा त्यसमध्ये ४२ करोड १४ लाख ८८ हजार अपचलन गरिएको दाबीसहित मुद्दा दायर भएको छ । सिआइबीको अनुसन्धानमा सो रकम भट्टको इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा ट्रान्सफर गरिएको थियो । यही पैसाबाट भट्टले हिमालयन रिइन्स्योरेन्सलगायत कम्पनीको सेयर खरिद गरेका थिए । भट्टको तीन करोड चुक्ता पुँजी भएको इन्फिनिटी होल्डिङको चुक्ता पुँजी ४८ करोड अस्वाभाविक रूपमा वृद्धि भएको थियो । यसरी शंकर ग्रुपबाटै ल्याएको पैसाले चुक्ता पुँजी वृद्धि गरेको अनुसन्धानको निष्कर्ष छ ।
उनीहरूबीच कृत्रिम जग्गा बिक्रीको कागज बनाई लगानीको स्रोतको वैधता पुष्टि गर्ने प्रयास गरिएको अभियोगपत्रमा उल्लेख छ । अनुसन्धान अधिकारीहरूका अनुसार सुलभ अग्रवालको नाममा विदेशमा मात्र दुई अर्बआसपास रकम भेटिएको छ । यो रकम उनले घरजग्गा र व्यवसायमा लगाएको भेटिएको छ । दीपक भट्टको पनि ठुलो रकम विदेशमा रहेको आशंकामा विभागले खोजी गरिरहेको छ । भट्टले ललितपुरको लामाटारमा खरिद गरेको २५० रोपनीभन्दा बढी जग्गाको स्रोत भेटिएको छैन ।

यसैगरी, हिमालयन रिइन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ अपचलन गरेको आरोपमा ४२ जनाविरुद्ध बिमासम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । बीमा कम्पनीको पैसा भट्ट र उनीनिकट समूहले गैरकानुनी रूपमा सेयर बजारमा लगानी गरेका थिए । सो रकम फिर्तासमेत नगरेको धितोपत्र बोर्डकै छानबिनमा खुलेको थियो । सोही प्रतिवेदनलाई आधार बनाएर सिआइबीले अनुसन्धान सकाएर मुद्दा प्रक्रिया अघि बढाएको हो ।

अभियोगपत्रमा उल्लेख भएअनुसार भट्टले मात्र हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्सको मात्र दुई अर्ब ८९ करोड २० लाख ४८ हजार दुरुपयोग गरेका थिए । त्यस्तै, राजबहादुर शाहले ८९ करोड ७० लाख ९७ हजार, ऋषिराम मोरले २३ करोड एक लाख, सुभी अग्रवालले ६२ करोड ८९ लाख र हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले २२ लाख २६ हजार दुरुपयोग गरेको थियो ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत इन्स्योरेन्स कम्पनीको रकमबाट सेयर खरिद भएको थियो । धितोपत्रमा लगानी गर्न बीमा प्राधिकरणबाट स्वीकृतिसमेत नलिएको अनुसन्धानमा खुलेको छ । यस मुद्दामा बीमा प्राधिकरणका तत्कालीन दुई अध्यक्ष मदन दाहाल र शरद ओझाले अनियमिततामा साथ दिएको अनुसन्धानको निष्कर्ष छ । उनीहरूमध्ये ओझालाई गत वर्ष नै सरकारले बर्खास्त गरेको थियो भने दाहाल नेपाल सरकारको बहालवाला सचिव हुन्‌ । यसमा भट्टमाथि दुई अर्ब ८९ करोड, सुलभलाई तीन अर्ब ७३ करोड, सुभी अग्रवाललाई ६२ करोड, ऋषिराज मोरलाई २३ करोड, राजबहादुर शाहलाई ८९ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यस्तै, शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभासकुमार झुनझुनवाला, उपासना पौडेल, मनीषकुमार र दीपककुमार श्रेष्ठविरुद्ध संयुक्त रूपमा दुई अर्ब ७३ करोड ३३ लाख संयुक्त बिगो कायम गरिएको छ । उनीहरू नेपाल रिइन्स्योरेन्ससँग सम्बन्धित छन्‌ । आशिष श्रेष्ठ, सिद्धार्थ झुनझुनवाला, ललिता गोल्यान, सुनिता श्रेष्ठ, अनुप ताम्राकार, बद्री सिग्देल, प्रविना दाहाल र मृगेन्द्रनाथ रिमालविरुद्ध १६ करोड १७ लाख बिगो कायम गरिएको छ । उनीहरू नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक तथा व्यवस्थापक हुन्‌ ।

हिमालयन सेक्युरिटी बैंकरका दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले, आकांक्षा श्रेष्ठ र सुभाषबहादुर श्रेष्ठविरुद्ध २२ करोड १९ लाख बिगो छ । हिमालयन क्यापसर्भका सञ्चालकहरू शिशिर गैरे, दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले र रितेश प्रधानलाई संयुक्त ३७ करोड बिगो कायम गरिएको छ । हिमालयन इन्भेस्टमेन्ट बैंकर र एचएलआई लार्ज क्याप फन्डका कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, बिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुमेरशमशेर जबरा, सुभाष पौडेल, शालिनी संघाई र प्रतीक जोशीविरुद्ध संयुक्त रूपमा २५ करोड ३७ लाख बिगो कायम गरिएको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवाल, सुधा कर्ण र राजीव ठाकुरमाथि संयुक्त तीन अर्ब ७३ करोड बिगो कायम गरिएको छ ।

1

Scroll to Top