नेपालमा हाडजोर्नी उपचार, ट्रमा व्यवस्थापन तथा नसासम्बन्धी चिकित्सा सेवालाई थप गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यका साथ ‘ट्रमा सोसाइटी अफ नेपाल’ नामक नयाँ संस्था गठन गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. रमेशप्रसाद सिंह संरक्षक र हाडजोर्नी रोग विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो।
देशभर बढ्दो सडक दुर्घटना, कार्यस्थलका चोटपटक र प्राकृतिक विपद्का कारण सिर्जना हुने ट्रमा सम्बन्धी चुनौतीहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न यो साझा मञ्चको स्थापना गरिएको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के. दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता, महासचिवमा डा. विजयेन्द्र अधिकारी र कोषाध्यक्षमा डा. आलोक पाण्डे चयन भएका छन । त्यसैगरी सहसचिवमा डा. पविन थापा र सह–कोषाध्यक्षमा डा. सन्जित झा रहेका छन, भने सदस्यहरूमा डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल निर्वाचित भएका छन । संस्थालाई देशव्यापी स्वरूप दिन सातै प्रदेशबाट क्रमशः डा. रुपेशजंग बेलवासे (कोशी), डा. चन्द्रभूषण यादव (मधेश), डा. मनोज कँडेल (बागमती), डा. झपेन्द्र पोखरेल (गण्डकी), डा. प्रकृतिराज कँडेल (लुम्बिनी), डा. पुजनकुमार रोकाया (कर्णाली) र डा. मन्दीप पाठक (सुदूरपश्चिम) लाई प्रादेशिक प्रतिनिधिको जिम्मेवारी सुम्पिएको छ।
चिकित्सा क्षेत्रको प्राविधिक तथा वैज्ञानिक गतिविधिलाई अनुसन्धानमूलक ढंगले अघि बढाउन संस्थाले डा. रोहित श्रेष्ठको संयोजकत्वमा एक ‘वैज्ञानिक समिति’ (साइन्टिफिक कमिटी) समेत गठन गरेको छ, जसको सदस्यहरूमा डा. भाष्करराज कार्की, डा. मनीष श्रेष्ठ र डा. विश्वबन्धु निरौला छन । नवनियुक्त अध्यक्ष डा. लामिछानेका अनुसार काठमाडौँ उपत्यका बाहिरका अधिकांश जिल्लामा कार्यरत सक्रिय हाडजोर्नी चिकित्सकहरूलाई यस संस्थामा समेटिएको छ। आगामी दिनमा विशेषज्ञहरूबीच अनुभव, ज्ञान र आधुनिक प्रविधिको आदानप्रदान गर्दै मोफसलसम्मै ट्रमा केयरको नेटवर्क बलियो बनाउने लक्ष्य सोसाइटीले लिएको छ।


