Banijya News

कोशी प्रदेशको बजेटः कृषि क्षेत्र मुख्य प्राथमिकतामा

1
1.0K Shares

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गरिने बताएका छन् ।

मन्त्री लिङ्थेपले प्रस्तुत गरेको बजेटमा कृषिमा आत्मनिर्भर बन्न र कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ । कोशी प्रदेशले कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विनियोजित रकम मुख्यगरी कृषि पूर्वाधार, सिँचाइ, सहुलियतपूर्ण ऋण, बीउ बिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिने उल्लेख छ ।
यसैगरी, कोशी प्रदेशले पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सडकहरू निर्माणको लागि ४ अर्ब रुपैयाँ र जनता आवासलाई ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, प्रदेश सरकारले कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन गरेको छ ।

खानेपानी, सिँचाइका लागि ६ अर्ब २८ करोड

कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि खोनपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासमा ६ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बहुवर्षे खानेपानीका लागि २४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने २ सय खानेपानी आयोजनाका लागि २७ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ३८ क्षेत्रमा प्रतिक्षेत्र १ करोडको खानेपानी आयोजना र १८ निर्वाचन क्षेत्रमा जलउत्पन्न र खानेपानीसँग सम्बन्धित १ करोडका आयोजना गरेर ५६ करोड विनियोजन गरिएको छ । साथै, जल उत्पन्न प्रकोप नियन्त्रण र विपद व्यवस्थापनको लागि ६२ करोड ५३ लाख विनियोजन गरिएको छ ।

1

Scroll to Top