Banijya News

माउण्ट एभरेष्ट पावरको आईपीओ खुला, सर्वसाधारणलाई १४.२७ लाख कित्ता सेयर अवसर

1
1.0K Shares

माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको हो।

लगानीकर्ताले उक्त आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १७ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बाँडफाँट गरिसकिएको छ।

त्यसैगरी, ३४ हजार ४०० कित्ता कर्मचारीका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। यी सबै छुट्याइएका सेयर बाँडफाँटपछि बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत घरमै बसेर आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ।

आईपीओ निष्कासनअघि कम्पनीको वित्तीय विश्वसनीयतामा सुधार आएको संकेत गर्दै केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल लागत दुई अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ। आयोजनाले २०८१ साउन १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो, जुन नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौतामा तोकिएको समयभन्दा करिब साढे दुई महिना अगाडि हो।

उत्पादन सुरु भएको पहिलो त्रैमासिकमै आयोजनाले आफ्नो स्थापित क्षमताको करिब ९५ प्रतिशत विद्युत उत्पादन गर्न सफल भएको कम्पनीले जनाएको छ। आयोजनाबाट वार्षिक सात करोड चार लाख युनिट ऊर्जा उत्पादन हुने सम्झौता गरिएको छ।

कम्पनीका अनुसार विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ। लगानी फिर्ता हुने साधारण अवधि ६.४० वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि ८.९४ वर्ष रहेको उल्लेख गरिएको छ।

ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यसहित आईपीओ ल्याइएको कम्पनीले जनाएको छ। यसले सर्वसाधारणलाई जलविद्युत क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्नुका साथै देशको ऊर्जा विकासमा निजी क्षेत्रको सहभागिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top