ललितपुरको जावलाखेलस्थित सदर चिडियाघरमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिडियाघरभित्र रहेको आफ्नो सरकारी क्वार्टर छाडेकी छन्। मन्त्री नियुक्त भएदेखि नै त्यहाँ बस्दै आएकी उनी बर्डफ्लु देखिएलगत्तै सुरक्षित स्थानमा सरेको उनको सचिवालयले जनाएको छ।
हाल उनी पार्टीको महाधिवेशनका लागि चितवनमा रहे पनि अब चिडियाघरको निवासमा नबस्ने बुझिएको छ। संक्रमण फैलिएसँगै चिडियाघरलाई सर्वसाधारणका लागि पूर्ण रूपमा बन्द गरिएको छ भने त्यहाँ कार्यरत कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउँदै क्वारेन्टाइनमा राखिएको छ। चिडियाघर प्रशासनका अनुसार बाहिरबाट आएका जंगली कागका माध्यमबाट भित्रका पशुपन्छीमा यो रोग सरेको हो, जसका कारण लाटोकोसेरो, निलबिरालो, जंगली बिरालो, गिद्ध, सावरी चरा र चरीबाघ जस्ता पशुपन्छीको मृत्यु भइसकेको छ। अन्य जनावरमा संक्रमण नफैलियोस् भन्नका लागि चुना छर्कने र विज्ञहरूसँग नियमित परामर्श गर्ने काम भइरहेको छ भने एक हप्ताको अवस्था हेरेर मात्र चिडियाघर खुलाउने विषयमा निर्णय गरिनेछ।
यसैबीच चिडियाघरमा बर्डफ्लु देखिएपछि सर्वसाधारणमा त्रास बढे पनि जनस्वास्थ्य विज्ञहरूले भने त्रसित नभई सावधानी अपनाउन आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्चर डा। शेरबहादुर पुनका अनुसार बर्डफ्लु प्रभावित क्षेत्रका मानिस र पन्छीहरूको नजिक रहनेहरूमा संक्रमणको जोखिम बढी हुने भए पनि मासु र अन्डा खानै नहुने भन्ने होइन।
मासु र अन्डालाई ७० देखि ७२ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राम्ररी पकाएर खाएमा बर्डफ्लुको भाइरस नष्ट हुने र त्यो उपभोगका लागि पूर्ण सुरक्षित हुने उनी बताउँछन्। नेपालमा सन् २००९ मा पहिलोपटक बर्डफ्लु देखिएको र सन् २०१९ मा यसका कारण एकजनाको मात्र मृत्यु भएको इतिहास रहेकाले महामारीबाट जोगिन पर्याप्त जनचेतना फैलाउनु र खानपानमा सतर्कता अपनाउनु नै मुख्य उपाय रहेको विज्ञहरूको भनाइ छ।


