आरती स्ट्रिप्सले गत आर्थिक वर्षमा आफ्नो कारोबारमा २७ प्रतिशतको आकर्षक वृद्धि गर्दै रु। १८ अर्ब ४३ करोड ६० लाख पुर्याएको छ । सन् २०२३ मा रु. १४ अर्ब १२ करोड १० लाख र सन् २०२४ मा रु. १४ अर्ब ५३ करोड ८० लाखको व्यापार गरेको कम्पनीले गत वर्ष उल्लेख्य प्रगति गरेको हो ।
यो वृद्धिको मुख्य कारण बिक्री परिमाणमा भएको ४१ प्रतिशतको वृद्धि हो, जसअनुसार सन् २०२४ को १ लाख १४ हजार ९ सय ११ मेट्रिक टनको तुलनामा गत वर्ष १ लाख ६१ हजार ९ सय ४ मेट्रिक टन स्टिलजन्य सामग्री बिक्री भएको थियो । विशेषगरी भारततर्फको उच्च निर्यातले यो व्यापार बढाउन मद्दत गरेको रेटिङ रिपोर्टले देखाएको छ ।
कारोबारको परिमाण बढे तापनि आन्तरिक तथा वैदेशिक बजारमा औसत मूल्य घट्दा कम्पनीको प्रति मेट्रिक टन सञ्चालन नाफा भने खुम्चिएको छ । सन् २०२४ मा प्रति मेट्रिक टन रु. १५ हजार ३ सय ८ सञ्चालन नाफा रहेकोमा गत वर्ष त्यो घटेर रु. १० हजार ९ सय ७४ मा सीमित भयो, जसले गर्दा सञ्चालन नाफा मार्जिन पनि १२.१० प्रतिशतबाट झरेर ९.६४ प्रतिशत पुगेको छ ।
चालू आर्थिक वर्षको सुरुवाती ९ महिनामा भने कम्पनीले रु. ८ अर्ब १४ करोड ७० लाखको कारोबार गरिसकेको छ । कम्पनीले ऋण भुक्तानी र नाफालाई सञ्चित कोषमा जम्मा गरेका कारण ऋण–इक्विटी अनुपात सन् २०२४ को ०.७० गुणाबाट सुधारिएर गत वर्ष ०.६० गुणामा झरेको छ । यद्यपि, कुल गियरिङ अनुपात भने १.६३ गुणाबाट केही कमजोर भई १.९४ गुणा पुगेको छ भने ब्याज कवरेज अनुपात २.१८ गुणा रहेको छ । कुल ऋण तथा कुल नगद सञ्चिती अनुपात पनि अघिल्लो वर्षको १२.९५ गुणाको तुलनामा बढेर गत वर्ष १६.५३ गुणा पुगेको तथ्यांकले देखाउँछ ।
सन् २००१ मा स्थापित विराटनगरमा रहेको यस उद्योगको वार्षिक उत्पादन क्षमता ४ लाख ७३ हजार मेट्रिक टन रहेको छ, जसले आरती स्पेक्ट्रा, आरती सुरक्षा र आरती सिल्भर ब्रान्डमा विभिन्न जस्तापाता तथा एमएस पाइप देशभरका २०० भन्दा बढी डिलरमार्फत बिक्री गर्दै आएको छ । विशाल गुप्ता निर्देशक रहेको यस कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि कुल बैंकिङ कर्जा दायित्व रु। ११ अर्ब ७६ करोड ९४ लाखबाट बढाएर रु। १५ अर्ब ६७ करोड ४२ लाख पुर्याएको छ, जसमा ३ अर्ब ९६ करोड ९२ लाख दीर्घकालीन र ११ अर्ब ७० करोड ५० लाख अल्पकालीन ऋण रहेको छ । हाल केयरएज नेपालले कम्पनीलाई ुप्लेस्ड अन क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशनु को रेटिङ प्रदान गरेको छ ।


